भीमसेन गुठीद्वारा किरियापुत्री भवनका लागि सहयोग

 दमौली  । व्यास–३ स्थित व्यास गुफा क्षेत्रमा निर्माणाधीन किरियापुत्री भवनका लागि बन्दिपुर भिमसेन धर्मगुठीले ५ लाख रुपैयाँ भन्दा बढि रकम सहयोग गर्ने भएको छ ।
गुठीका पाले शंकरलाल राजभण्डारीले २ लाख ५० हजार  भवन निर्माण समितिका अध्यक्ष उपेन्द्र लम्साललाई आइतबार प्रदान गरे । रकम हस्तान्तरण गर्दै पाले राजभण्डारीले निर्माण गरिन लागेको क्रियापुत्री भवन सबैको साझा भवन भएको भन्दै गुठीका तर्फबाट सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।
सहयोग रकम ग्रहण गर्दै समितिका अध्यक्ष लम्सालले क्रियापुत्री भवनको निर्माण कार्य सम्पन्न गर्नका लागि समितिले सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरेको बताउनुभयो ।
गुठीका तर्फबाट प्रदान गरिने बाँकी रकम चाँडै नै हस्तान्तरण गरिने गुठीका सदस्य द्वारिका श्रेष्ठले
 बताए । व्यास–३ स्थित व्यास गुफा क्षेत्रको पूर्वतर्फ निर्माणाधीन ८ कोठे उक्त भवन ५० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिने समितिले जनाएको छ । व्यास नगरपालिकाको ८० प्रतिशत र बाँकी स्थानीय लागत सहभागितामा भवनको निर्माण कार्य सम्पन्न गरिने धर्मगुठीले जनाएको
 छ ।