मदिरामा वर्गिय विभेद !

–संजय श्रेष्ठ                   
मदिरा विश्वमा शायद पानीपछि सबैभन्दा बढी उपयोगमा आउने पेय पदार्थ हो । मानिसको दिनचर्याको महत्वपुर्ण पक्ष बन्न पुगेको छ, मदिरा । हरेक व्यक्तिले आफ्नो सफलता, असफलता, खुशी, पीडा र अनेक अनेक बहानामा पिउने गर्दछ । विवाह ब्रतवन्ध होस् या कुनै समारोह यसले आफ्नो स्थान ओगटिहाल्छ । नेपालको परिवेशमा मदिरा पारखीहरु बढ्दो क्रममा छन् । नेपाली बजारमा आर्थिक बर्ष २०७३÷२०७४ को तथ्यांकअनुसार २४ लाख ४१ हजार लिटर मदिरा तथा मदिरा बनाउने कच्चा पदार्थ आयात भएको थियो । जसको मुल्य तीन अर्ब १२ करोड ८८ लाख छ । त्यस्तै आर्थिक वर्ष २०७३÷०७४ मा दुई अर्ब २० करोड रुपैयाँको मदिरा आयात भएको देखिन्छ । तयारी मदिराको हकमा भन्ने हो भने करिब १२ लाख ३९ हजार लिटर तयारी मदिरा भित्रिएको पाइन्छ । कच्चा पदार्थको हकमा करिब १ अर्ब ९१ करोड भन्दा बढीको कच्चा पदार्थ भित्रिएको पाइन्छ । मुलुकभित्र मदिरा आयात गर्ने थुप्रै कम्पनीहरु छन । औद्योगिक रुपमा दर्ता भएका मदिरा उत्पादन गर्ने ८५ भन्दा बढि कम्पनी छन् । स्थानीय रुपमा उत्पादन हुने मदिराको कुनै लेखाजोखा छैन । नेपाल मदिरा उत्पादक संघका अनुसार नेपाली बजारमा घरेलु मिडल क्लास, अपर क्क्लास र प्रमियम क्लासका मदिराहरु उपलब्ध छन् । प्रिमियम क्लासको मदिरा विदेशबाट आयात गरिन्छ । प्रिमियम भन्दा तल्लो क्लासका मदिरा नेपालमा नै बन्ने गरेको छ । नेपालमा घरेलु मदिराहरु अत्याधिक प्रयोग हुने गरेको छ । नेपालमा मदिराको परिपुर्ति ५० प्रतिशत भन्दा बदी विदेशी मदिराले ओगट्न लागेको अवस्था छ । विदेशबाट आयात गरिने रेड लेबल, गोल्ड लेबल, सिवाल लेबल, रोयल सल्युट, ब्लु लेबल लगायतका मदिराहरु पर्दछन । यी सबै विदेशी  प्रिमियम क्लासका मदिराहरु नेपालका उच्च स्तरिय तथा रोयल परिवारका भनाउँदाहरुको प्राथमिकता भित्र पर्ने खालका मदिरा परे । 
नेपाली सर्वसाधरणहरुको हैसियत र औकातले यी मदिराको स्वाद किन्न सक्दैन । यी सबै प्रिमियम क्लासका मदिरा धनी र सम्पन्नको प्रतिक बनेको छ, वर्तमान समय सापेक्ष नेपाली बजारमा । प्रिमियम क्लास तथा विभिन्न किसिमका ब्रान्डी र वाइनहरु प्रशस्त मात्रामा भित्रिएको छ, नेपाली बजारमा । नेपालको बढ्दो मदिरा आयात र  नेपालीको शौखिन पाराले आयातित मदिराको मुल्यमा थप मुल्य बढाउने वातावरण सिर्जना गरेको देखिन्छ । सानो मध्यम परिवारको व्यक्तिले दिनचर्या सकेपछि बेलुका परिवारसँग बसेर रु ४० पर्ने प्रतिबोटलको मदिरा सेवन गर्दछ । त्यसरी नै अलिकति सम्पन्न व्यक्तिले होटल वा बारमा बियर तथा भोड्का पिउने हैसियत राख्छ । त्यसरी नै ठूला व्यवसायी, उद्योगपती तथा उच्च घरानियाँहरु प्रिमियम क्लासका रेड लेबल कोटेड मदिराको हैसियत राख्छन् । मदिराले संसारका मानिसहरु विचको स्तर र परिचय छुटयाउने काम गरेको छ । नेपालमा उत्पादित मदिराले लिएको लोकप्रियता देख्दा डर पनि लागेर आउँछ । गत हप्ताको समाचार देख्दा मदिराप्रतिको नकारात्मक सोच ममा अझ बढेको छ । भानु नगरपालिकामा पुगेको अनुगमन टोलीले स्थानीय रुपमा उत्पादित मदिराहरु नष्ट गरेको देख्न पाइयो । विदेशबाट आयात गरिएका ती प्रिमियम क्लासका मदिरा र ८५ भन्दा बढी उद्योगबाट उत्पादित मदिरालाई कुनै आत्ति भएन तर स्थानीयले आफ्नो जिविकोपार्जनका लागि गरेको उत्पादनले सरकारी निकायलाई निकै मर्का परे जस्तो लाग्यो । वैदेशिक आयात घट्ला भन्ने भान भए  जस्तो लाग्यो कि माननियज्युहरुलाई ? उच्च कोटिका महंगा मदिरा अरबौ रुपैयाँ र मात्रामा देश भित्रिंदा सिङगो सरकारलाई आपत्ति भएन भने प्रहरीलाई के को आपत्ति ? 
कि सामाजिक सञ्जालहरुमा भाइरल हुने जुक्ति त होइन नि ? एउटा आम स्थानीयले गरेको उत्पादन र बिक्रिप्रति के को टाउको दुखाई ? कि तपाइं पनि प्रिमियम क्लासका मदिरालाई प्राथमिकतामा राख्ने र देश भरि विस्तार गर्ने लक्ष्य लिएर हिंडनुभएको त होइन ? अरबौं रुपैयाँको मदिरा र कच्चा पदार्थ आयातले सिङगो राष्ट्रको अर्थतन्त्रमा  खलबलि मच्चाएको छ । नेपाली मुद्रा मुत्रमा परिणत भई सबै पैसा वैदेशिक कम्पनीको खातामा जम्मा भएको 
छ । त्यतिबेला सम्बन्धित निकायलाई कसैलाई पनि कुनै पिर मर्का भएन । नेपालमा एक देखि ५ लाख रुपैयाँभन्दा माथिल्लो मुल्यका  दर्जनौ मदिराहरु उपलब्ध छन् ।  ती सबै विदेशी त हुन् । ती मदिरा आयात र बिक्री गर्ने ठूला ठूला बार, डिलर तथा कम्पनीले बेच्दा हामी तपाई कसैलाई समस्या भएन उल्टै गर्वका साथ  उपयोग गरियो । तर सानो परिमाणमा उत्पादन र बिक्री गर्ने आम किसानहरुलाई देख्दा के को आपत्ति ? ठूला बार, डिलर तथा कम्पनीलाई सम्मान र स्विकार तर त्यही मदिरा बिक्री गर्ने किसान र पसललाई भट्टी जस्तो उपनाम दिने यो कहाँ को उचित न्याय र दृष्टिकोण हो समाजको ? धनाढ्यले बसेर पिउने स्थानलाई लक्जरी र रोयल अनेकौं नाम दिइने हामीले त्यहि मदिरा बेच्ने सानो पसललाई भटटि तथा अनेकौ नामले किन होच्याउने ? म कुनै मदिरा व्यापारी वा मदिरा शौखिन होइन तर एउटै चिजको बेच्ने र उत्पादन गर्नेहरुको आधारमा किन विभेद हँुदैछ ? 
देश र सरकारले आफ्नो स्थानिय तथा स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्छ भनेर हरेक वस्तुको उत्पादन अघि जोड दिएको छ । मेरो विचारमा मदिरालाई पनि प्रोतसाहन गर्नुपर्छ भन्ने होइन तर विदेशीलाई भन्दा विदेशीलाई प्राथमिकता र स्वागत गरिंदै आएको छ । मदिरा कम्पनीको अनेकौ बोर्ड र प्रचार प्रसारका विज्ञापनहरु पसलहरुमा टाँसेर मदिराको चर्चा गरेको पाइन्छ । तर स्थानीयले विना कुनै विज्ञापन सानो मुल्यको थोरै 
परिमाणमा उत्पादन गरि बेच्दा अनेकौ मदिरा सम्बन्धी सुचना र विज्ञप्तिहरु किन जरुरी ? त्यस्तै मदिरामुक्त देश, समाज र परिवारको चाहना राख्ने राज्य र सरकारले ठूलो कम्पनी  
र वैदेशीक आयातकाविरुद्ध किन चुँ बोल्दैन ?
किन कुनै नियम लागु गदैन ? सभ्य र मदिरा मुक्त र राज्यको परिकल्पना र सपना देख्ने राज्यले जनताको हितको पक्षमा किन बोल्दैन । आज एउटा सम्पन्न परिवारको विवाह तथा समारोहमा ति विदेशी प्रिमियम क्लासका मदिराको प्रयोग र चर्चा किन हुन्छ ? फलानोको प्रोग्राममा त रेड लेबल रे जस्ता आडम्बरका मजाक किन गरिन्छ ? गत बर्ष नेपालमा ७ करोड १४ लाख रुपैयाको बियर र २६ करोड ७३ लाख रुपैयाको वाइन भित्रिएको तथ्याङकमा पाइएको छ । सिङगो ४ नम्बर प्रदेशलाई छुटयाईएको बजेट बराबरको मदिरा आयात भएको छ । गत बर्ष करिब ३ अर्ब १२ करोड ८८ लाख रुपैयाको मदिरा आयात भएको थियो । विदेशबाट आयात भएको मदिराको मुल्यले सिङगो प्रदेश चलाउन सकने क्षमता राख्दछ । 
यसरी प्रदेश चलाउन सकने क्षमता बराबरको मुल्यको मदिरा अनयात हुँदा स्तब्ध भई बस्ने सरकारले मदिराप्रति देखाएको कठोरपन देखावटी जस्तो लाग्छ । 
अन्तयमा, मदिरा आयात रोक होला या नहोला, सरकारले मदिरा सम्बन्धि नीति नियम ल्याउला वा नल्याउला त्यो आफनै ठाउँमा छ । तर यदी विदेशबाट अरबौं रुपैयाँको मदिरा आयात भई मुत्रमा परिणत हुन्छ भने अब देखि खुल्ला मदिरायुक्त देश घोषणा गर्नुपर्दछ ।
यदि यि मध्ये कुनै पनि शर्तहरु लागु गर्ने नसकेमा राज्यले स्थानीय रुपमा उत्पादित मदिरा 
र लोकल रक्सीलाई मात्र बहिस्कार गरी वैदेशीक मदिरालाई प्रोत्साहन र प्राथमिकता दिन पाउने छैन । मदिरा उत्पादन र आयात सम्बन्धि विशेष नियम कानुन बनाइदे सरकार । नत्र भने त्यही मदिराले एक दिन तँलाई डुबाउने छ । 
मदिरावाद मुर्दावाद !