व्यवसायीलाई कर शिक्षा

दमौली   । जिल्लाका उद्योगी तथा व्यवसायीलाई कर शिक्षा प्रदान गरिएको छ । तनहुँ उद्योग वाणिज्य संघको आयोजनामा भएको कार्यक्रममा जिल्लाभरका उद्योगी व्यवसायीको सहभागीता थियो । सहभागीलाई परिवर्तित करसम्बन्धी प्रावधानका बारेमा समेत जानकारी प्रदान गरिएको संघका प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्रले 
बताए । तालिमको आन्तरिक राजश्व कार्यालय, पोखराका प्रमुख कर अधिकृत केशव उप्रेतीले उद्घाटन गरेका थिए । उनले व्यवसायीहरुले इमान्दार भएर कर तिर्नुपर्ने बताए । व्यवसायीका कठिनाई र बुझाईको समस्या समाधानका लागि कर कार्यालय तयार रहेको उनले बताए । कार्यक्रममा करदाता सेवा कार्यालय दमौलीका प्रमुख प्रदीप रेग्मीले करका विविध विषयमा व्यवसायीको जिज्ञासाको उत्तर दिएका थिए । 
संघका अध्यक्ष मानकाजी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संघका पूर्व अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठले ईमान्दार भएर कर तिरेमा आफुले तिरेको करबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आफुलाई नै फाइदा पुग्ने 
बताए । कार्यक्रममा झण्डै साढे तीन सय व्यवसायीको सहभागीता रहेको तनहुँ उद्योग वाणिज्य संघकी प्रशासकीय अधिकृत सीता गुरुङले जानकारी दिइन् ।