बलात्कार मुद्दामा मिल्न दबाब

दमौली । जनप्रतिनिधिको चर्को दबाबपछि घिरिङ गाउँपालिका वडा नम्बर ४ का कार्यवाहक वडाध्यक्ष शक्ति थापा मुछिएको एक बलात्कारको मुद्दामा पीडित पक्षलाई कानुनी प्रक्रियामा सहयोग नगर्न बाध्य बनाइएको छ । 
होटल सञ्चालन गर्दै आएकी स्थानीय ५२ वर्षिया एक अपांगता भएकी महिलामाथि बलात्कार गरेको आरोपमा थापाविरुद्ध जाहेरी दिएकी महिलालाई कानुनी प्रक्रियामा सहयोग नगर्न दबाब दिए पछि पीडित पक्ष झण्डै दुई साताको सदरमुकाम बसाईपछि गाउँ फिरेको छ । 
यसअघि मुद्दामा मिलापत्रको सहमति नगरेमा बहिष्कार गर्ने चेतावनी दिएपछि महिलाका पति तथा परिवारजन चर्को दबाबमा थिए । कमजोर पारिवारिक पृष्ठभूमि भएका परिवारमाथि सहमतिमा आउन चर्को दबाब थापाले दिएपछि उनीहरु सहमतिमा आएको श्रोतको दाबी छ । 
आरोपितलाई राजनीतिक संरक्षण प्रहरीले फरार भने पनि थापा भने प्रहरीमा जाहेरी दर्ताको एक सातापछि दमौली आएका थिए । दमौलीमा पीडित पक्षसँग छलफलमा सहभागी बनेका थापालाई प्रहरील पक्राउ नै गरेन । तत्कालीन एमालेका तर्फबाट वडा सदस्य बनेका थापा पार्टीकै तर्फबाट निर्वाचित वडाध्यक्ष झकबहादुर कुमाल अर्को बलात्कारको घटनामा आरोपित भएर फरार भए पछि कार्यवाहक बनेका थिए । तर उनी कार्यवाहक भएको केही दिन नबित्दै उनी संलग्न भएको भनिएको अर्को बलात्कारको घटना सार्वजनिक भएको थियो । पार्टीकै एक पछि अर्को प्रतिनिधि बलात्कार घटनामा मुछिएपछि मुद्दालाई कमजोर पार्नका लागि तत्कालीन एमाले नेतृत्व निकै सक्रिय बनेको आरोप लागेको छ । 
तत्कालीन एमाले कार्यवाहक अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बलात्कार घटनामा कसैलाई संरक्षण नगर्ने भए पनि आफ्ना नेतालाई फसाउन खोजिएको दाबी गरेका 
थिए । यसले पनि तत्कालीन एमाले नेतृत्व घटना मिलाउन सक्रिय भएको तर्कलाई आड मिलेको छ । 
पक्राउ नगर्न प्रहरीलाई दबाब
प्रहरी नेतृत्वले यसअघि वडाध्यक्ष झकबहादुर कुमाल तथा लगत्तै कार्यवाहक शक्ति थापा दुवैविरुद्ध जाहेरी
 लिएको छ । तर उनीहरुमाथि पक्राउ नगर्न तत्कालीन एमाले नेतृत्वले दबाब दिएको खुलेको छ । तत्कालीन एमालेका सांसदसम्मले दबाब दिएको प्रहरी श्रोतको दाबी छ । यद्यपि प्रहरी उपरीक्षक सिद्धिविक्रम शाह आफूलाई कुनै दबाब नरहेको जिकिर गर्छन् । ‘हामीमाथि कुनै दबाब छैन,’ उनले भने,‘खोजी कार्य जारी छ ।’ दुवैको लोकेशन फेरिइरहेकाले आफूहरुलाई समस्या भएको भन्दै शाहले दुवैलाई पक्रने दाबी गरे । 
तर कार्यवाहक थापा नियमित गाउँ आइरहेको स्थानीयको दाबी छ । अब पीडितसमेत सहमतिमै गाउँ फर्केको अवस्थामा थापाको गाउँ सक्रियता नियमित बनेको 
बताइन्छ । कुमाल भने केही समययता गाउँमा छैनन् । तर पनि पारिवारिक नियमित सम्पर्कमा रहेका उनी नेताहरुसँगसमेत संवादमा रहेको श्रोतको दाबी छ ।