‘दमौली कारागार व्यवस्थित’

दमौली   । दमौली कारागार पहिलेको तुलनामा व्यवस्थित पाइएको छ । नेपाल बार एसोसिएसन तनहुँ जिल्ला अदालत बार एकाईको मानव अधिकार तथा जनसरोकार समितिको नेतृत्वमा गरिएको अनुगमनका क्रममा पहिलेको तुलनामा कारागार व्यवस्थित पाइएको हो ।
समितिका संयोजक एवं बारका पूर्व अध्यक्ष ऋषिराम पोख्रेलको नेतृत्वमा गरिएको अनुगमनका क्रममा कारागार तुलनात्मक रुपमा व्यवस्थित पाइएको बारले जनाएको छ । अनुगमनको नेतृत्वकर्ता पोख्रेलले शौचालय व्यवस्थित पाइएको, कैदीबन्दीको सहज बसोबास तथा खेलका क्रियाकलापको प्रबन्ध गरिएको
 बताए ।
हालैमात्र कारागारमा स्वास्थ्यकर्मी पनि तैनाथ गरिएका 
छन् । स्वास्थ्यकर्मीले कैदीबन्दीको स्वास्थ्य परीक्षण गर्ने प्रबन्ध भए पछि कारागार व्यवस्थित देखिएको पोख्रेलले बताए ।
कारागारमा कैदीबन्दी बस्ने सबै पाँच कोठामा टेलिभिजन सेट तथा नियमित रुपमा स्थानीय पत्रपत्रिका पठनपाठन गर्ने प्रबन्ध भएको कैदीबन्दीले टोलीलाई बताएका छन् । तर कारागार प्रमुख नभएका कारण निमित्तको भरमा चलेको पाइएको छ ।
कारागारका तत्कालीन प्रमुख तीर्थराज खनालले अवकाश लिएपछि आएका नयाँ प्रमुख नहुँदा स्वाथ्यकर्मी सक्षम घिमिरेले निमित्तको रुपमा कारागार सञ्चालन गरिरहेको पाइएको छ ।
कारागारमा २५ जनाको क्षमता भनिए पनि ९२ जना कैदीबन्दी बसोबास गरिरहेका छन् । उनीहरुमध्ये पुर्पक्षका लागि थुनामा परेका ४२ तथा ५० जना फैसलाअनुसार कैद भुक्तान गरिरहेको कारागार प्रशासनले जनाएको छ ।