हालसम्मकै धेरै लागूऔषध पक्राउ

दमौली   । तनहुँ प्रहरीले बुधबार दमौलीबाट जिल्लामा हालसम्मकै बढी लागूऔषध पक्राउ परेको दाबी गरेको छ । प्रहरीले विहान सबेरै व्यास ४भोर्लेटार चोकस्थित पृथ्वी राजमार्गमा चेकजाँचका क्रममा दुई फरक बसमा यात्रा गरिरहेका दुईजनाबाट सात सय ३० थान लागूऔषध बरामद गरेको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए । पछिल्लो समय राजमार्ग लागूऔषध सप्लाई हुने राजमार्ग क्षेत्रको सुरक्षा जाँचमा कडाइ गरिरहेको प्रहरीले एकै पटक ठूलो परिमाणमा लागूऔषध बरामद गरेको हो ।  प्रहरीले सुनौलीबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ७५३२ नम्बरको रात्री बस र बिरगंजबाट बाग्लुङतर्फ जाँदै गरेको ना ३ ख ८३७५ नम्बरको बस रोकेर यात्रुहरुको जाँच गरेको थियो । चेकजाँच गर्दा जिल्ला कपिलबस्तु वाणगंगा नगरपालिका वडा नम्बर ६ का २४ वर्षका लालबहादुर चौधरी र चितवन कविलास गाउँपालिका वडा नम्बर नौका ३७ वर्षका रविन गुरुङलाई प्रहरीले पक्रेको हो । दुवैको साथबाट झोलामा रहेको विभिन्न प्रकारका सात सय ३० थान लागूऔषध बरामद गरेको प्रहरी नायब उपरीक्षक मल्लले बताए । प्रहरीले डाइजेपामको शिशी २३९ थान, फेनरागनको शिशी २५१ र नुफिनको शिशी २४० थान का साथै १० हजार नगदसमेत पक्राउ व्यक्तिबाट बरामद गरेको जनाएको छ । 
पक्राउ दुवैविरुद्ध तनहुँ जिल्ला अदालतबाट म्याद लिएर लागूऔषध मुद्दामा अनुसन्धान थालेको मल्लले बताए ।
तनहुँका राजमार्ग क्षेत्रबाट पोखरा र पश्चिम तथा जिल्लाका विभिन्न भागमा लागूऔषधको सप्लाई हुने गरेको जानकारहरु बताउँछन् । दुई सातायता चरणबद्ध रुपमा लागूऔषका बिक्रीकर्तालाई प्रहरीले पक्रेको छ ।