बियर बोकेको ट्रक खस्दा चालकको मृत्यु

दमौली । बियर बोकेर चितवनबाट पोखरा जाँदै गरेको एक ट्रक घाँसीकुवा १२  देउरालीनजिकै पल्टँदा चालकको मृत्यु भएको छ । घटनामा घाइते सह चालकको चितवनमा उपचार भैरहेको छ । बुधबार विहान बियर बोकेर जाँदै गरेको ना ३ ख २७८७ नम्बरको ट्रक देउरालीको ओरालोबाट तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको 
छ । विहानैको समयमा भएको दुर्घटनामा घाइते चालक चितवन माडी ९ निवासी चालक ३४ वर्षका उपेन्द्र कुमार चौधरीको उपचारका क्रममा दमौली अस्पतालमा विहान निधन भएको हो । घटनामा परी गम्भीर घाइते सोही ठाउँका ट्रकका सहचालक २८ वर्षका पूर्णबहादुर प्रजाको चितवनको भरतपुर मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घटनाका समयमा ट्रक सडकबाट करिब १५ फिट तल खसेको बताइएको छ ।
बढ्दो दुर्घटना
प्रहरीले दिनहुँ ७२ किलोमिटर ओगटेको तनहुँस्थित पृथ्वी राजमार्गमा चेकिङ गर्ने गरे पनि पछिल्ला केही समयमा दिनहुँजसो स साना सवारी दुर्घटना हुने गरेको छ । दुर्घटनामा परी कतिपयले ज्यान गुमाउने समेत गरेका छन् । ट्राफिक प्रहरीले लाइसेन्स र ब्लुबुक परीक्षण गर्ने भए पनि गतिका बारेमा भने खास कडाई नगर्ने भएकाले यसलाई पनि कतिपयले दुर्घटनाको कारण ठान्ने गरेका छन् । छिर्कनको ओरालोमा केही दिनअघि भएको मोटरसाईकल दुर्घटनामा एकै मोटरसाईकलमा सवार चारमध्ये तीनको ज्यान गएको  थियो । यातायात क्षेत्रका व्यक्तिहरु सडकको अवस्थाको बारेमा कम जानकारी, अपर्याप्त निद्रा तथा अत्यधिक गतिलाई जिल्लामा बढेको दुर्घटनाको कारण ठान्न गर्दछन् । व्यासभूमि यातायात समितिका पूर्व अध्यक्ष राजकुमार श्रेष्ठ ‘राकु’ गति नियन्त्रणका लागि पनि प्रावधान हुन नसक्दा दुर्घटनाको जोखिम बढिरहेको तर्क गर्दछन् । ट्राफिक प्रहरीले भने दुर्घटना नियन्त्रणका लागि नियमितजसो चेकजाँच गर्ने गरेको दाबी गर्दछ । मंगलबार दिउँसो कन्टारमा एक यात्रुवाहक बस दुर्घटना परेको क्षेत्रमा मोडमा बढी गतिले दुर्घटना भएको ट्राफिकअधिकारीहरुकै निष्कर्ष छ । चार वर्ष अघि प्रहरीले देशव्यापी रुपमा यातायातका साधनको गति नियन्त्रणका लागि लागु गरेको टाइम कार्ड हाल प्रचलनमा 
छैन । सहरी क्षेत्रमा यातायातको गति सीमित लेख्ने गरिए पनि सीमित गतिमा सवारी चले नचलेको अनुगमन हुने गरेको छैन । यसले सहरी क्षेत्रमा पनि दुर्घटनाको जोखिम बढाइरहेको छ ।