देवघाटमा प्रदेशकै दोश्रो पूर्ण सरसफाई वडा घोषणा सरसफाईले सौन्दर्य थपेको छः वाग्ले

देवघाट । देवघाट गाउँपालिकाको वडा न ३ लुम्रिङलाइ बुधबार पुर्ण सरसफाइ तथा स्वच्छता उन्मुख वडा घोषणा गरिएको छ ।  प्रदेशकै दोश्रो वडाका रुपमा वडालाई पूर्ण सरसफाईयुक्त घोषणा गरिएको गाउँपालिकाले दाबी गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले प्रदेशकै नमूना बन्न लागेको भन्दै वडामा आगामी दिनमा सरसफाइका सूचक थप राम्रो हुने विश्वास गरे । उनले वडालाई सफा र सुन्दर राख्दै अरुका लागिसमेत नमूना बनाउन वडावासीलाई शुभकामना दिए । समन्वय प्रमुख वाग्लेले अन्यत्रका तुलनामा वडा अत्यन्तै राम्रो भएको बताउँदै सरसफाइ घोषणाले अझ बढी सौन्दर्य थपेको बताए ।
देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले असार सम्ममा अर्को वडालाई पनि पूर्ण सरसफाइ घोषणा गरिने बताए । उनले २०७५ सालसम्ममा गाउँपालिकाका सबै वडालाई पूर्ण सरसफाइयुक्त घोषणा गरेर देशकै नमूना गाउँपालिका बनाउने घोषणा गरे ।
गाउँपालिकाकी उपाध्यक्ष बिमला थापाले प्रदेश नम्बर ४ कै दोस्रो पुर्ण सरसफाइयुक्त वडा घोषणा भएकोमा खुशी व्यक्त गरिन् । उनले वडा सरसफाइयुक्त मात्र घोषणा गरेर नहुने भन्दै त्यसलाइ स्थानीयले सफा बनाउनु पर्ने बताइन् ।
वडाध्यक्ष कीर्तिमान आलेले वडा पुर्ण सरसफाइ घोषणा भएको र वडालाइ व्यवहारिकतामा उतार्दै सरसफाइमा निरन्तरता दिने बताए । घोषणापश्चात आलेले गाउँपालिकाका अन्य वडाहरुले पनि वडा नम्बर ३ को देखसिकी गरेर अनुशरण गर्न सहयोग पुग्ने बताए ।
वडाले उत्कृष्ट काम गरेको भन्दै गाउँपालिकाले कार्यक्रमकै अवसरमा ५० हजार रुपैयाँको चेक प्रदान गरेर प्रोत्साहन गरेको छ । 
तीन सय ४७ घर धुरी रहेको वडा न ३ को लुम्रीङ्गमा कुल २७ सय जनसंख्या रहेको छ ।
स्थानीय देउकी थापाले आफूहरुको गाउँ घर पहिलेभन्दा सफा र आकर्षक देखिएको भन्दै खुशी व्यक्त गरिन् । 
कार्यक्रममा दिशापिसाब गरेपछी हात धुनुपर्ने घर टोल वरपर सरसफाइ राख्नुपर्ने लगायतका गीतहरु पस्किएको थियो ।