संस्था खोल्न सम्पत्ति विवरण

दमौली   । अब संस्थाहरुको नवीकरणका लागि पदाधिकारी तथा कर्मचारीहरुको सम्पत्ति विवरण अनिवार्य रुपमा चाहिने भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले सूचना जारी गर्दै संस्था दर्तासम्बन्धमा नयाँ व्यवस्था भएको जनाएको हो । मन्त्रालयले जारी गरेको परिपत्रअनुसार संस्थाको दर्ता तथा नवीकरण गर्दा कार्य समितिका पदाधिकारीहरु तथा कर्मचारीको सम्पत्ति विवरण अनिवार्य छ । यसैगरी लगातार तीन वर्ष नवीकरण नभएका संस्थाहरुको नवीकरण नगर्नेसमेत प्रशासनले जानकारी दिएको छ । प्रशासनले सूचनामा एउटा मात्र कार्य क्षेत्रलाई उद्देश्यका रुपमा लिनुपर्ने उल्लेख गरेको छ । संस्थाको नवीकरणका बेलासमेत कार्य क्षेत्र एउटा छान्ने गरी संसोधन जरुरी रहेको प्रशासनको सूचनामा उल्लेख छ । संस्थाहरुले चार महिनामा एक पटक चौमासिक प्रगति विवरण प्रस्तुत गर्नुपर्नेसमेत सूचनामा उल्लेख गरिएको छ ।