आज प्रदेश ४ को बजेट

दमौली  । प्रदेश नम्बर ४ ले झण्डै २७ अर्बको बजेट 
ल्याउँदैछ । शुक्रबार दिउँसो ४ बजे प्रदेश सभामा हुने प्रदेश सभा बैठकमा आर्थिक मामिला मन्त्री किरण गुरुङले बजेट पेश गर्दैछन् । यसअघि नै प्रदेश सभामा प्रस्तुत सरकारको नीति तथा कार्यक्रम पारित भएकाले सोही आधारमा बजेट आउने निश्चित छ । सरकार सञ्चालनपछि पहिलो पटक चालु आर्थिक वर्षका लागि बजेट ल्याएको सरकारले अब भने आगामी आर्थिक वर्ष २०७४÷०७५ का लागि बजेट ल्याउन लागेको हो ।
बजेटले यसअघि नै प्रदेश सरकारले नीति तथा कार्यक्रममा समेटेका पर्यटन तथा भौतिक पूर्वाधारको विकासलाई जोड दिने ठानिएको छ । प्रदेशलाई समृद्ध बनाउने घोषणा गरेका मुख्यमन्त्री पृथ्वी शुब्बा गुरुङले पर्यटनलाई प्रधान मानेर बजेट ल्याउन लागेको धेरैको विश्वास छ । वाम बहुमतको सरकारले यसै आधारमा तर्जुमा गरेको बजेट आर्थिक मामिला मन्त्री गुरुङले संसदमा पेश गर्न लागेको ठानिएको छ । 
प्रदेशको बजेटमा आयमा वार्षिक आठ प्रतिशत वृद्धि गर्ने लक्ष्यअनुसार केही करका दायरासमेत थपिने ठानिएको छ । पोखरामा मोनोरेल बनाउने घोषणा गरेको प्रदेश सरकारले यस्ता विकासे आयोजना थप्न तथा सबलताका लागि नयाँ खालका प्रादेसिक कर तथा करसम्बन्धी व्यवस्था बजेटबाट गर्ने अड्कलबाजीसमेत गरिएको छ ।
कृषिका लागि पनि विशेष प्राथमिकता दिने बताएको प्रदेश सरकारले कुन अंकको बजेट ल्याउँछ, त्यसलाईसमेत नागरिकले चासोका साथ हेरेका छन् । गुरुङले पेश गर्ने बजेटमा प्रदेशका सामाजिक विकासका कार्यक्रमसमेत के कस्ता आउलान् भनेर नागरिकले चासोपूर्वक हेरेका छन् ।