उन्नत बाख्रापालनमा शुभ संकेत

तनहुँको बन्दीपुरमा रहेको बाख्रा अनुसन्धान केन्द्रको सक्रियतामा दिनमा डेढ
सय देखि तीन सय ग्रामसम्म तौल बढ्ने स्थानीय बोअर जातिको बाख्राको विकास गरिएको खबर बाख्रापालक किसानका लागि खुशी बनेर आएको छ । व्यवसायिक बाख्रापालन बढे पनि उन्नत नश्लको अभावका कारण बढी मेहनत र लगानी दुवै भए पनि बाख्रापालकले सोचे जति कमाउन सकेका छैनन् । जति नै मेहनत गरे पनि आम्दानी सोचेजस्तो नहुँदा नेपालमा बाख्रापालनको लागत अनि मासु दुवैको मूल्य महँगो हुन पुगेको छ । बजारमा महँगो भए पनि उत्पादन लागत नै बढी पर्दा किसानले मेहनतअनुसार कमाउन नसकिरहेको परिप्रेक्ष्यमा उन्नत जातका र धेरै आम्दानी दिने बाख्राको आवश्यकता खट्किएको थियो । जसलाई बन्दीपुर बाख्रा अनुसन्धान केन्द्रको सफल अनुसन्धानले धेरै राहत दिएको छ । बाख्रापालनको लागत घटाउँदै विभिन्न हिसाबले किसानका लागि आकर्षण बन्न सक्ने नयाँ जात अनि पराल वा दानमा निर्भरता हटाउने गरी उन्नत जातका घाँसको विकास गर्नु पर्ने दायित्व पनि  केन्द्रकै काँधमा छ । यी दुवै जिम्मेवारी पुरा गर्न केन्द्रले चालेको कदममा सरकारी निकाय अनि किसान दुवैको साथ जरुरी छ ।