राप्रपाको घोषणापत्रः १० वर्षमा सबै नगरपालिका “स्मार्ट सीटी”

राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी १० वर्षमा हरेक नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउने महत्वाकांक्षी लक्ष्यसहित घोषणा पत्र सार्वजनिक गरेको छ ।
 
राप्रपा अध्यक्ष कमल थापाले बुधबार ललितपुरको हिमालयन होटलमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीको घोषणा पत्र सार्वजनिक गरेका हुन् । स्थानीय तहको निर्वाचनका लागि जारी गरिएको घोषणा पत्रमा राप्रपाले प्रत्येक गाउँपालिकालाई आत्मनिर्भर र व्यवस्थित नगरोन्मुख गाउँका रुपमा विकसित गरिने दाबी गरेको छ ।
 
कुल बजेटको २० प्रतिशत शिक्षामा
राप्रपाले गाउँ र नगरपालिकाहरुको आफ्नो कूल बजेटको कम्तिमा २० प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन गरिने बताएको छ । स्थानीय तहबाट अनुदान प्राप्त गर्ने विद्यालयहरुमा माध्यामिक तहसम्मको पढाइ निःशुल्क गर्ने उसले बताएको छ ।
 
राप्रपाले शिक्षकहरुलाई राजनीतिक दलको सदस्य बन्न रोक लगाउने बताएको छ । साथै स्कुलहरुमा बन्द हड्ताल गर्न र दलको भ्रातृ संगठन खोल्न बन्द गरी शैक्षिक क्षेत्रलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने बाचा घोषणापत्रमा गरिएको छ ।
 
प्रत्येक गाउँरनगरपालिकाले हरेक वर्ष छात्रवृत्ति प्रदान गरी गाउँरनगरको जेहेन्दार विद्यार्थी मध्येबाट एकजना डाक्टर र एकजनालाई इञ्जिनियरिङ पढ्न पठाइने बताइएको छ । राप्रपाले भनेको छ– ‘त्यसरी पढेर आएको व्यक्तिले कम्तिमा ५ वर्ष सम्बन्धित गाँउ नगरको अस्पतालमा काम गर्नु पर्नेछ ।’
 
२५ बेडको अस्पताल, आवासका लागि “स्वामित्वमा साझेदारी”
राप्रपाले प्रत्येक स्थानीय तहमा कम्तिमा २५ बेडको एक अस्पताल निर्माण गर्ने बताएको छ । गाउँ र नगरपालिकाहरुमा स्वास्थ्य उपचार कोष स्थापन गर्ने र क्यान्सर लागेका एवं मृगौला फेल भएका बिरामीहरुलाई १ लाख औषधोपचार खर्च दिने घोषणा पत्रमा उल्लेख छ ।
 
प्रत्येक वडामा २ जना महिला स्वास्थ्य स्वयंसेविका नियुक्त गर्ने, ५ बर्ष्भित्र सबै नगारिकको स्वास्थ्य वीमा गर्ने र विपन्न परिवारमा जन्मिएका शिशुलाई ५ हजार रुपैयाँ सुपोषण अनुदान दिने उसले बताएको छ ।
 
राप्रपाले व्यवस्थित आवासका लागि ‘स्वामित्वमा साझेदारी’ (सेयर्ड अनरसिप) को अवधारणा अघि सारेको छ । ‘यस प्रणालीमा आवास उपभोक्ताले घरको केही अंश वा तल्ला वा फ्याट घरधनीलाई रकम भुक्तानी गरी खरीद गर्ने र बाँकी रकम घरमा बसेवापत मासिक भाडाका रुपमा भुक्तानी गर्दै जाने प्रणाली राप्रपाबाट विजयी भएका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा लागु गरिनेछ’ घोषणा पत्रमा भनिएको छ ।
 
एक परिवार एक रोजगारी, २५ जनालाई रोजगारी दिए स्थानीय कर मिनाहा
राप्रपाले ‘एक परिवार एक रोजगारी’ को नारा दिएको छ । उसले २५ जनाभन्दा बढीलाई रोजगारी प्रदान गर्ने उद्योग तथा व्यवसायलाई १० वर्षसम्म सबै प्रकारका स्थानीय कर मिनाहा गर्ने राप्रपाको प्रतिवद्धता छ । प्रत्येक घरमा बिजुली र खानेपानी र ५ बर्ष्भित्र हरेक वडामा मोटरबाटो पुर्रुयाउने बताएको छ ।