नेपालीको अन्तिम विकल्प वैदेशिक रोजगारी

–संजय श्रेष्ठ
देशमा सरकारले गरिबी निवारण तथा जनताको आर्थिक स्तर उकास्न प्राविधिक शिक्षा, सीपमुलक तालिम एवम् स्वरोजगार जस्ता योजनाहरु तर्जुमा गरेता पनि देश र जनताको प्रगतिको गति भने कछुवाको गतिमै अघि बढीरहेको छ । प्राविधिक  शिक्षा हासिल गर्न निश्चित योग्यता आर्थिक चलखेल तथा उच्च पदमा आशिन व्यक्तिका अनि पार्टीगत छत्रछायाँ,  नितान्त आवश्यक पर्दछ । कुनै पनि व्यक्तिले आफनो ज्ञान सीप, क्षमतालाई चरम सीमामा पुयाउन तथा मुर्त रुप दिन गरेको अथक प्रयास नेपालको परिवेशमा यी माथि उल्लेखित कुराहरु बिना असम्भव देखिन्छ । पढाइका लागि छात्रवृति, सरकारी कार्यालयमा दरबन्दीका  लागि हातपाउ मोल्नुपर्ने अवस्था कुनै नौलो कुरा होइन । प्रत्येक क्षेत्रमा व्यक्तिगत स्वार्थ र हस्तछेपले राम्रा र योग्य व्यक्ति पछाडी परेका छन् ।
देशले जनता र स्वयम आफनो स्तर उकासनका लागि घरेलु तथा स्वरोजगार योजना ल्यायो तर बिडम्वनाको कुरा स्वरोजगारका लागि उचित लगानि तथा सहुलियत ऋण भने दिन सकेको जस्तो मलाई लाग्दैन । कुनै व्यक्तिले स्वरोजगार नामक जीवनयापन अस्त्र चयन अगरेता पनि उसको जीवनरुपी अस्त्र चलाउनको लागि त्यसलाई दिनुपर्ने उर्जा, चमक एवम् आकार भनेकै आर्थिक पाटो हो । एउटा व्यक्तिले आफनो सम्पुर्ण सम्पत्ति एवम् सर्वस्व उक्त योजनामा लगानी गरेको हुन्छ । यदि उसँग पुस्तैनी सम्पत्ति या नगद भएको खण्डमा ।यदि व्यक्तिसगँ कुनै भौतिक चल तथा अचल सम्पत्ति नभएको खण्डमा उसको स्वरोजगारको निर्णय र इच्छया, स्वाभिमानी नेपाली हुनुको घमण्ड सबै वैदेशिक रोजगारीका लागि  पलायन हुने जहाज चढेपछि चुरचुर हुन्छ । 
एक कर्मनिष्ठ व्यक्तिले स्वदेशमानै गर्न चाहेको परिश्रम, मेहनत खाडी मुलुकको भूमिमा अवतरण गरिसकेपछि आफनो श्रमसँग ज्याला नसाटिन्जेलसम्म मात्र त्यसको अस्तित्व नेपाल र नेपाली सँग जोडिएको हुन्छ । नेपाल जस्तो 
भु–परिवेष्ठित राष्ट्र अनि जलस्रोतले भरिपुर्ण ठाउँमा देशको ७५ प्रतिशत भन्दा धेरै जनता परनिर्भर भएर बाचिरहेका छन् । एउटा परिवारमा रहेका  पाँच सदस्यको जिम्मेवारी सिङ्गो एक जना जो वैदेशिक रोजगारीमा गएको हुन्छ त्यमा निर्भर रहेको हुन्छ । देशमा रहेको सबै स्थानका अधिकांश परिवारहरुको बिडम्वना यही छ । पशुको शरिरमा पाइने परजीवी जस्तै भएको छ सिङ्गो नेपाल र नेपालीको अवस्था । परजीवीझै अरुमा आश्रित भएर बाँच्दै छौ हामी । कुनै दिन आश्रय दिएर पाल्ने आश्रयदाता होस् त मर्छ त्यो दिन देखि अर्को कुनै विकल्प नहोला हामीसँग । अनि अर्को आश्रयदाताको खोजिमा भागदौड नहोला भन्नेमा कुनै दुई मत छैन ।  मैले  सानो हुँदा भारतीय टेलिभिजनमा देखेको कुरा असाध्यै मनमा गडेको थियो । जसमा वैज्ञानिकहरुले एउटा भ्यागुतोलाई खुल्ला र चिसो पानी भएको भाँडामा राखेका थिए । भाँडामा खानेकुरा तथा उसलाई अनुकुल वातावरण बनाइएको थियो । वैज्ञानिके सो भाडाको पिँधमा  मधुरो आगो 
लगाए । तापक्रम विस्तारै बढ्दै थियो, भाडाको । 
भ्यागुतालाई पानी तात्दै गएको थाहा त थियो तर पानी तातने क्रममा उम्लिदै जान थाल्यो तर भ्यागुतोले पानी तात्दै गएको कुरामा ध्यान पुयाएन र सोही भाडामा बसिरहयो, स्थान परिवर्तन गर्न 
खोजेन । र अन्तमा पानी अत्याधिक रुपमा तात्यो र भ्यागुतोले केही गर्न सकेन र मर्यो । वैज्ञानिकहरुले पुनः अर्को भ्यागुतोलाई उम्लिदै गरेको तातो पानीमा फालिदिए तर उक्त भ्यागुतो भने ठूलो प्रयास र मेहनतले आफनो शरिर जलाउँदै बाहिर निकल्न सफल भयो र ज्यान बचायो । मैले भ्यागुताको होइन हामी सबै नेपाली र सिङ्गो नेपाललाई उदाहरणका रुपमा हेरेको छु । 
हामी सबै अहिले चिसो र अनुकुल जस्तो लाग्ने क्षणिक किसिमको वातावरणमा रमाउँदै छौ कहंी त्यही भ्यागुताको हाल त हुने होइन ? 
जलस्रोतले भरिपुर्ण, कृषिका लागि उब्जनियुक्त जग्गा जमिन, भौगोलिकता र अनुकुल वातावरण भएता पनी सरकार तथा स्थानिय  तहले आज सम्म उचित कृषि क्रान्ति ल्याएको देखिदैन । सिङ्गो जिल्ला र क्षेत्रमा एकजना सफल व्यक्तिको कहानीलाई चलचित्रको  अध्यायको रुपमा हेर्ने अनि उसको प्रंशसा मात्र गर्ने तर अन्तर आत्माबाट मनन् नगर्ने नेपालीको जन्मजात गुण हो । 
जसरी एक सफल किसानले वा उद्यमीले त्यस कामको लागि गरेको अथाहा संघर्ष, प्रयास र मेहनतलाई नजर अन्दाज गरी स्वनिर्भरतातर्फ अग्रसर नहुनु नेपालीकै कमजोरी हो । सबै योजना, सेवा सुविधा तथा उपलब्धिमुलक काम सरकारले मात्रै गर्नुपर्छ भन्ने पनि
 होइन । त्यसका लागि स्वयं नागरिक पनि अग्रसर हुनु जरुरी छ ।
उच्च शिक्षा हासिल गरिसकेपछि के गर्ने, कुन दिशा तर्फ जाने, आफनो र देशको भविष्यलाई कुन क्षेत्रमा लैजाने भन्ने निश्चित बागडोर नेपालमा नरहेको पाइन्छ । निश्चित शिक्षा हासिल गरेपछि स्वदेशमा नै रोजगाको अवस्था सिर्जना गर्न  नागरिकले आफनो क्षेत्रबाट के पहल गर्ने त, कहाँ पहल गर्ने, दिशा निर्देशन र उचित मार्गदर्शनका कुरा शुन्य देखिन्छ । अन्तिम विकल्पको रुपमा नेपालीले वैदेशिक रोजगारी देख्दछ । 
छिमेकी दाजुभाई, काका काकी, इष्टमित्र सबै  वैदेशिक रोजगारीको शिलशिलामा विदेश पलाएन भएको देख्छन् । उनिहरुको आर्थिक स्थितिसँग आफनो तुलना गर्दा अरुको माथिल्लो स्तरको महसुस हुन्छ क्यारे, तबबाट उ माथि पनि वैदेशिक भुतले आकर्षणको प्रभुत्व जमाउँछ । नेपाली शिक्षा नीति र पढाईअनुसार स्नातक  तह पास गरेका विद्यार्थिले समेत  आफुले पढेको र सिकेको शिक्षको कुन क्षेत्रमा वा स्थानमा प्रयोगमा ल्याउने भन्ने कुरामा यकिन गर्न सकेका छैनन् । तसर्थ जतिसुकै पदाई र दक्षता हासिल गरेता पनी  नेपालीको पोल्टोमा त्यही नै लादिएको पाइन्छ । 
गन्तिका आधारमा एकाधबाहेक सबै नेपालीहरु वैदेशिक रोजगारीका लागी जानु भन्दा अर्को कुनै विकल्प छैन । दैनिक ४–५ हजार नेपाली युवा विदेश पलायन भएका छन् । नेपालको सिङ्गो उर्जा र उत्पादनशिल क्षमता जति सबै अन्य भूमिको विकासका लागिपरेको छ । यसर्थ नेपालमा रोजगारी नपाइनुको गुनासो आम नागरिकबाट सुनिनु कुनै नौलो कुरा होइन् । सरकारले यसरी पलायन भएका जनताको उचित सेवा सुविधा, तलब तथा अन्य समस्याहरुमा समेत कुनै विशेष कडा नीति नियम नबनाएको र कति नेपालीहरु समस्यामा परेको समयमा उनीहरुको उद्यार हुन नसकेको  अवस्था छ । देशको  सिङ्गो अर्थतन्त्र समेत रेमिटयान्सले चलेको यस अवस्थामा यदि कुनै विशेष रोजगारी र अवसर सिर्जना गरेको खण्डमा हामी सबै आफैमा आत्मनिर्भर बन्ने मौका पाउँथ्यौ कि ? देशको आफनै विकास र उत्पादनमा जोड दिई नागरिक र देश हातेमालो गरि अगाडी लागि परेमा विकसित मुलुकले जसरी नै एउटा नयाँ नेपाल र पहिचान सहितको फडको मार्न सकिन्छ सायद । यस कुरालाई मनन गदै, अनुशरण गर्न सकेमा सिङ्गो देश र जनताको लागि बरदान सावित हुनेछ ।