दमौलीमा विश्वकप हेर्ने गन्तव्य

 विश्वकप फुटबल चलिरहँदा त्यसले होटल व्यवसायीको व्यापारमा वृद्धि गराएको छ । विश्वभरको फुटबलको ठूलो उत्सवका रुपमा चिनिएको विश्वकप फुटबल रसियामा चले पनि नेपालमा विभिन्न टिमका समर्थकहरुले समूहमा बसेर खेल हेर्ने गरेका छन् । त्यसका लागि होटलमा राखिएका ठूला पर्दा तथा टिभी उनीहरुको रोजाइमा परेका छन् । दमौलीको ग्यालेक्सी होटलका सञ्चालक सुरेश श्रेष्ठ शुरुको दिनबाटै व्यापार बढेको बताउँछन् । 
उनको होटलमा समूहमा जम्मा भएर खानपिन गर्दै विश्वकप हेर्ने दर्शकले रातसमेत होटलमै बिताउने गरेका छन् । यसले गर्दा व्यवसायी खुशी छन् । 
हलमै टिभीमार्फत खेल हेर्ने सुविधा दिएको खुशी रेष्टुरेन्टका सञ्चालक राजकुमार श्रेष्ठ राकुले समेत दर्शक बढेकाले व्यापार बढेको बताए । होटलले पनि उद्घाटनदेखि नै हलमा खेल हेर्ने तथा त्यहीं रात बिताउने व्यवस्था मिलाएको छ । 
उता, दमौलीको सन्तोष होटलले भने तालिम हलमा ठूलो पर्दामा विश्वकप हेर्ने प्रबन्ध गरेको 
छ । ठूलो पर्दामा खेल हेर्न होटलका ग्राहक तथा बाहिरबाटसमेत दर्शक आउने गरेको होटल सञ्चालकको भनाई छ । दमौलीकै टूाञ्जिट रेष्टुरेन्ट एण्ड बारलेसमेत हलमा विश्वकप हेर्ने प्रबन्ध गरेको छ । उसले रातीसम्मै विश्वकपका दर्शकलक्षित सुविधा प्रदान गरेको छ । समूहमा बसेर हेर्दा रातीसम्म बस्न सकिने र रमाईलोसमेत हुने भएकाले धेरैले समूहमा खेल हेर्नका लागि पनि होटल रोज्ने गरेका छन् । एक खेलप्रेमी युवा विपिन श्रेष्ठ समूहमा खेल हेर्नुको छुट्टै रौनक रहेको बताउँछन् । उनीहरुले खुशी रेष्टुरेन्टमा जम्मा भएर नियमित खेल हेर्ने गरेका छन् । होटल मात्र हैन टोलमा जम्मा भएर विश्वकप हेर्नेको संख्या पनि व्यास नगर क्षेत्रमा कम छैन । व्यास ५ मा पाल टाँगेर ठूलो पर्दामा प्रोजेक्टरमार्फत देखाइने खेल हेर्न ठूलै संख्याका युवा चापाघाटमा झुम्मिने गरेका छन् । मनकामना चलचित्र मन्दिरलेसमेत खेल हलमा हेर्ने व्यवस्था मिलाएपछि कतिपय युवा हलमै समेत लाग्न थालेका छन् । विश्वकपभर नगर क्षेत्रमा छुट्टै माहोल देखिएको छ । घरमै बसेर खेल हेरे पनि टोलमा पर्दामा देखाउने सुनेपछि आफू समूहमै खेल हेर्न थालेको चापाघाटका सुरेन्द्र थापाले बताए ।