श्रृंग पथको नमीठो कथा

–दानबहादुर श्रेष्ठ
श्रृङ्गपथ बन्दै गर्दाको अवस्थामा र अहिले धेरै फरक छ । जसले जे भने पनि हुने हो भने बेग्लै कुरा हो तर आजको धुलो देख्नेले हिजोको हिलो नदेखेको पनि होला करिब २२ वर्ष अगाडि मोटरसाईकल हुँदाको अवस्था देखि यो बाटोको पाईला पाईला थाहा छ । सेर्का भन्ज्याङ निस्कने बाटोको स्टिमेटलाई पुरै तोडमोड गरेर मिछुर्लुङ निकालिएपछी मिछुर्लुङ निस्कनै महाभारत हुने दिन सायद कमैले सम्झेलान तर ‘हिंडेर आए पहिले गाडिमा आए कहिले कहिले’ अवस्थाबाट गुज्रेका हामी २०२० साल देखि नै बाटो यस्तै हो भन्ने कुरा म पत्याउँदिन मान्दिन । सुनाकोट पहिरोले दिएको दुःख सम्झँदा पनि डर लागेर 
आउँछ । ‘कृष्ण भिर’को उपमा पाएको सुनाकोटे पहिरोले यो मार्गलाई निक्कै दुख दिएको थियो । त्यसबेला ऋषिङको मान्छेलाई ऋषिङकै केही बुढाहरुले लोप्पा ख्वाउँदै गाडी चढ्ने सपना नदेख्न भन्दै उल्याउँथे । तर पनि ऋषिङ्गेले गाडी चढेरै छोड्यो उल्याउनेहरु त्यही गाडी चढेरै जिल्लिए ।
गाडी त चढे जुन उदेश्य प्राप्ती सडक निर्माणसँगै राष्ट्रले लिएको हुन्छ त्यो उद्देश्य ऋषिङले चुम्न सकेन बिजुली बल्यो तथापि उस्ताउस्तै छ । बिजुली टिभी सिरियल हेर्नलाई अनि सडक गाडिवालाई भाडा तिर्नलाई जस्तै । बर्षमा एकपटक भिर्कोट अर्चल्दी छिमछिपे बाट निर्यात हुने सुन्तला र ऋषिङ क्षेत्रबाट नगन्री मात्रामा हुने अदुवा निर्यात बाहेक खासै ठूलो काम सडक बिस्तारबाट ऋषिङ्गेले लिन सकेन । सिँचाई सुबिधा यसको कारण पनि हो तथापि बाँझो खेतलाई तरकारी उत्पादन गराउन सक्ने क्षमता हुँदा हुँदैपनी बाँझै रहनुले कृषिप्रतिको मोह मरेकै होला जस्तो लाग्छ । जे जस्तो भएपनी श्रृङ्ग पथले यश क्षेत्रका अन्य थुप्रै पुर्बाधार निर्माण गर्न र यहाको बिजुली , खानेपानी,शाखा मार्गको लागि निकास दिएको छ नत्र यहाँका कति भवन बन्ने नै थिएन होला नै ‘पानी आयो भनेर खुशी भयो दिलपनी,हरिकुमार श्रेष्ठले ल्यायो मिलपनी’ भन्ने तिज गीत ऋषिङ्गमा जन्मिने नै थिएन होला ।
गुन त यो बाटोले लायो तर गुणीहरु जन्माउन सकेन भन्छु म । ऋषिङको आर्थिक अवस्थाको बारेमा भाग १ मै उल्लेख पनि गरेको छु । कठिन परिवेशबाट जिम्माल मुखिया हुँदै आएको अवस्थामा ठुला बडा ठुलै र अरु अति सानो देखिनु सामान्य नै होला 
सायद ।  तर पनि यो मार्गले केही मानिसको आर्थिक हैसियत यसरी उकास्यो कि मानौं ठुलै लोटरी नै परेको थियो ।
यहाँको आर्थिक हैसियत सबैको प्राय थाहा भएको हुँदा कसैको बारेमा ब्यक्तिगत आक्षेप त लाउँदिन तर ऋषिङमा जन्मी हुर्केका हरेक न्यायमुर्तिहरुसँग आँखा चिम्लेर गम्न अनि सहि गलत भन्न सक्ने हिम्मत गर्न अनुरोध गर्छु । हल्ला थुप्रै आए यति खाए उति खाए तर सबै हल्लामा सत्यता थिएन । 
बाटो समिती पनि देखावटी जस्तै हो जस्तो लाग्छ त्यही समिती भित्रबाट मलाई आएका जानकारी र असन्तुष्टी , बाटो मा ग्याबिन भर्न चेक काट्नपर्दा हुने प्रकृयाबाट हुने गलत तरिकाको बारेमा थाहा नै नभएको पनि हैन ।
बाटो समितिको ढाडमा टेकेर श्रीङ्गपथको टाउकोमा हान्नेहरुपनी छन त्यसको बारेमा निजि टिकाटिप्पणी जायज हैन भन्ने ठान्छु त्यसैले त्यस्ता कुराहरु यहाँ प्रस्तुत गर्न चाहन्न , सक्दिन । तर पनि सबै गलत सहेर बस्न मन नमान्दो रहेछ । म लेखेर दिन्छु जो जो यो बाटो यस्तो भयो उस्तो भयो भनेर चिच्याएका छन उनिहरुलाई कस कसले यस्तो अवस्थामा ल्यायो भन्ने थाहा छ । एक गिलाँस एक चोक्टामा बिक्ने भन्ने बुढाहरुको आहान मेरो गाउँमा पनि लागू हुन्छ केहिी केहीमा त्यही रनभुल्लमा पारेर लिने दिने कलाकारहरु कतै गोहिका आँसु चुहाउँछन त कतै स्यालहरु डराईहाल्छन कि भनेर सिंह गर्जन गर्छन, त्यही बाघको छालामा रजाई गर्नेहरु आफुलाई बाघ सम्झिरहेका छन आफू बाघ हो भन्ने कुरा ऋषिङ्गेलाई आफै थाहा छैन ।
न उद्यम न कलकारखाना न कुनै ब्यवसाय न कुनै स्थायी आम्दानी राजनैतिक पात्रहरु कसरी दिन दुगुना रात चौगुणा करोडपती बन्छन भनेर देशभर बनेका नवढनाध्यहरुको फेरिहस्तभित्र ऋषिङका दुईचारथान परे भनेर म राजनैतिक अव्यस्थालाई दोष दिन्छु कि आफै ऋषिङ्गेलाई दोश दिन्छु । किन भने बिरोध गर्न नसक्नु,चोक्टा दिएर कराई हसुर्छन भन्ने चेतना नहुनु,आफ्ना भए च्याप्नु,चासो चिन्ता लिनेलाई बढी जान्ने सम्झनु हाम्रा कमजोरी हुन । तर यहि कमजोरी भित्र पनि असैह्य पीडा ऋषिङको घुम्ती भिरको योजनाले दिन्छ । शुरुमा बमले फोरिएको घुम्तिभिर प्राबिधिक कारणले बम हान्न नदिएपछी शुरुङ खन्ने बुझिएको हो तर सुरुङ त खनिएन दुईचार मोटरसाईकल र बसलाई हुत्याईसकेको ऋषिङ आउने हरेक बाहिरी मान्छेको आङ सिरिङ्ग बनाउने घुम्तिभिरको कथा निक्कै नै अपत्यारिलो छ र रोचक पनि यसको कथा ती अघिल्ला सबै घटना परिघटना र सबै प्रकारका भ्रष्टाचारका सुचक पनि हो भन्ने लाग्दछ । 
भ्रष्टाचार भन्दा पैसा अथवा अकुत सम्पतिमात्र ठान्नु गल्ती हुन भन्ने ठान्नु गलत हो हामीले गरेका गलत आचरण , हाम्रा बिरोध गर्न नसक्ने कमजोर मनोबल र नैतिक रुपमा गरेका भुलहरुपनी एक प्रकारको भ्रष्टाचार का कारक वा भनौ भ्रष्टाचार नै हुन ।
यी सबै कुराहरुको सम्मिश्रणबाट एकसाथ भएको घुम्तिभिरको कहानी ।