एक दिनपछि श्रृंगपथ खुल्यो

दमौली । झण्डै एक दिन पछि तनहुँसहित स्याङजा, पाल्पा र नवलपुर जाने एक प्रमुख मार्ग श्रृंग पथको यातायात सञ्चालनमा आएको छ । आईतबार राती भीमाद ५ आमडाँडामा एक खाली ट्रिपर फसेयता मार्गमा यातायात पूर्णरुपमा अवरुद्ध बनेको थियो । आइतबार रातीबाट सोमबार दिनभर मार्ग अवरुद्ध भए पनि जिल्ला समन्वय समितिले मार्ग खुलाउन पहल गरेको थियो । समितिका प्रमुख शान्तिरमण वाग्लेले बाटो ओटासिलको जिम्मा पाएको स्वच्छन्द मना जेभिका सञ्चालक महेन्द्र अधिकारीलाई बाटो खुलाउन निर्देशन दिएका थिए । दर्जनौं सवारी साधन र सैयौं यात्रु बाटामै फसेपनि सयमा खुलाउन पहल नहुँदा वाग्लेले तत्काल काम गर्नका लागि निर्देशन दिएका थिए ।
‘यातायात नियमित बनाउन आवश्यक निर्देशन दिएको हुँ,’ वाग्लेले भने,‘धेरै यात्रु आवतजावत गर्ने बाटोलाई वर्षामा रोकिन नदिन ठेकेदारलाई सचेत गराएका छौं ।’
सोमबार दिउँसो साढे ४ बजेतिर मात्र ट्रिपर जेसिबिको सहायतामा बाटोबाट निकालिएपछि अरु सवारी साधन सञ्चालनमा आएका थिए । तर पनि फेरि पानी परेमा मार्गकै सुनाकोट र आमडाँडामा फेरि सवारी फस्ने समस्या रहेको चालकहरुले बताएका छन् ।
स्वच्छन्द मना जेभीले गत वर्ष सक्नुपर्ने बाटो यस वर्ष पटक पटक गरी समय थप गरेको थियो । यसै वर्षको असार मसान्तमा काम सक्नुपर्ने भए पनि सडकको एक चौथाई कामसमेत नसकिएको प्राविधिकहरुले बताएका छन् ।
जिल्लाको दक्षिणी भेगको एक मात्र मार्ग श्रृंगपथ हुँदै स्याङजाको साँखर, पाल्पाको रामपुर, नवलपुरको डेढगाउँसम्म जाने सवारी साधन नियमित रुपमा सडकमार्फत सञ्चालन हुँदै आएका छन् ।