लाइफ लाइनमा हेलचक्र्याई

तनहुँमात्र  नभएर पाल्पा, स्याङजा र नवलपुर जिल्लाका ग्रामीण भेग जाने मुख्य मार्ग श्रृंगपथको काम सुस्त गतिमा अघि बढ्दा हरेक वर्षायाममा सैयौंले सास्ती भोग्ने गरेका छन् । निर्धारित समयमा काम नसक्ने ठेकेदार कम्पनी अनि कारबाहीको दायरामा ल्याउन प्रशासन तथा तत्कालीन जिविस र समन्वय समितिले नसक्दा यसको ठूलो असर परिरहेको छ । तनहुँको दक्षिण भेग र छिमेकी तीन जिल्लाका लागि श्रृंगपथ लाइफ लाइन हो । धेरैको सरोकार रहेको सडकको स्तरोन्नती सरकारको प्राथमिकतामा भएकै कारण पछिल्ला वर्षमा पर्याप्त प्राथमिकता र बजेटसमेत सडकले पाएको हो । तर गैरजिम्मेवार ठेकेदार कम्पनी अनि कारबाहीको दायरामा ल्याउने निकायको लाचारीपनको मूल्य दैनिक आवतजावत गर्ने सैयौं सर्वसाधारणले चुकाइरहेका छन् । अझ पनि पटक पटक थपिएको समयमा सडक सकिने कुनै सम्भावना देखिन्न । तर पनि निर्माण पक्षको गम्भीरता शून्यबराबर छ । यसले एक पक्षको गैरजिम्मेवारीपनाको मारमा कैयौंलाई पारिरहेको छ । खुला सत्य बनिसकेको सडकको कमजोर प्रगतिमा कसी लगाउन प्रभावित क्षेत्रका नागरिकले भगवानकै पुकारा गर्नुसिवाय उपाय देखिन्न ।