खाँचो अभिभावकको सक्रियताको

तनहुँमा लागूपदार्थको प्रयोग बढेको र यसमा विद्यार्थी तथा युवा उमेरकाको संलग्नता रहेको पाईएको छ । जिल्लामा हालसम्म प्रयोगकर्ताको संख्या बढ्दो क्रममा छ भने बिक्रीकर्ता सीमित छन् । तर सधैं अवस्था यस्तो रहन्न । आजका प्रयोगकर्ता भोली बिक्रीकर्ता पनि बन्न सक्छन् । हामीले भोलीलाई सोचेर आजै केही गर्नुपर्ने बेला आएको छ । १७ बर्षदेखि २६ बर्षसम्मका युवाहरु लागूपदार्थको प्रयोगमा सक्रिय देखिएका छन् । कतिपय विद्यालय तथा कलेजमा पढ्दै गरेका विद्यार्थी छन् । आफ्ना सन्तति लागूपदार्थको कुलतमा फसेको थाहा हुँदाहुँदै पनि कतिपय अभिभावक समाजबाट तिरस्कृत हुने त्रासका कारण घटनालाई सार्वजनिक गर्नबाट पछि पर्ने गरेका छन् । प्रहरीले नियन्त्रणमै लिएपनि भनसुनबाट छुटाउने वा त्यो प्रयत्न गर्नेहरु पनि धेरै छन् । जसले गर्दा प्रहरीलाई पनि यदाकदा समस्यामा पार्ने गरेको छ । घटना लुकाउन चाहने अभिभावकहरुले आफ्ना छोराछोरीलाई सुधार्न भन्दा नजानिदो पाराले बिगारिरहेका हुन्छन् । प्रहरीमा पुगेपनि अभिभावकको कारणबाट छुट्न पाईन्छ भन्ने मानसिकता सन्ततिमा विकास भयो भने यसले झनै विकराल रुप लिन सक्छ । उनीहरुको मनोबल झनै वृद्धि हुन्छ त्यो अभिभावक, सन्तति वा समाज कसैका लागि पनि हितकर हुँदैन । यसतर्फ प्रबुद्ध वर्गका अभिभावकहरुले पनि सोच्नु आवश्यक छ । 
गल्ति गरे सजाय भोग्नुपर्छ भन्ने भावना विकास भएमा लागूऔषध प्रयोगकर्ता केही हतास हुन सक्छन् । साथै प्रहरीले नियन्त्रणमा लिएपछि  दिने काउन्सिलिङले पनि कुलत तोडाउन केही भूमिका खेल्न सक्छ । त्यसकारण आफ्ना छोराछोरी कुलतमा फसेको थाहा पाएमा सकेसम्म परामर्शको माध्यमबाट सुधार्नका लागि अभिभावकले पहल गर्नुपर्छ । छोराछोरी कुलतमा फसेको कुरा लुकाउनेतर्फ लागिएमा उनीहरुको मनोबल झनै वृद्धि भएर केही पनि हुँदैन भन्ने भावनाको विकास गराउँछ । जसले गर्दा लागूऔषध प्रयोगको स्तर बढ्दै जान्छ । तिनीहरुले आफूजस्ता अन्य युवालाई पनि फसाउन सक्छन् । कुनै व्यक्ति लागूऔषध प्रयोगकर्ता छ भन्ने थाहा पाएमा समुदायका अन्य सदस्यले पनि तिनलाई परामर्श दिन सक्छन् । र यसले उनीहरुको बानी सुधार्न पनि मद्धत गर्न सक्छ । अर्को कुरा अहिले लागूपदार्थको प्रयोग विकराल रुपमा समस्या बन्दै गएपनि त्यसको नियन्त्रणको दायित्व प्रत्यक्ष रुपमा प्रहरीले मात्र लिएजस्तो देखिन्छ । तर अभिभावकको पूर्ण सहयोग नरहने हो भने प्रहरी एक्लैले कदापि यसको नियन्त्रण गर्न सक्दैन । कुलतमा फसेका मात्र नभै फस्नसक्ने सम्भावना भएका अभिभावकहरु पनि त्यसबाट जोगाउनका लागि के गर्नुपर्छ भन्ने बिषयमा सचेत हुनु आवश्यक छ । छोराछोरी कहाँ जान्छन के गर्छन ? भन्नेबारेमा जानकारी राख्ने । बेला–बेला आत्मिय हिसाबले गफ गर्ने, उनीहरुका मनका कुरा ईच्छा सोध्ने आदि गरेर विशेष माया ममता र हेरचाह  देखाउने हो भने विग्रन लागेकालाई पनि  लाईनमा ल्याउन सकिन्छ । अनि आफ्ना छोराछोरी नविग्रे पनि संगतको प्रभाव पर्नसक्छ भनेर समाजका अरु सदस्यका छोराछोरीलाई पनि लागूपदार्थको र्दुव्यसनमा फस्न नदिने र फसेको पाएमा सामुहिक हिसाबले बाहिर निकाल्न प्रयास गर्ने हो भने कसैका पनि छोराछोरी बिग्रन पाउँदैनन् । अनि यसो भएमा प्रहरीले पनि लागूऔषधको प्रयोगमा निगरानी राख्नुको साटो आफ्नो शक्ति र क्षमता शान्ति सुव्यवस्था कायम गर्नमा लगाउन सक्नेछ ।