बन्दीपुरको सम्मान

तनहुँको पुरानो व्यापारिक केन्द्र बन्दीपुरमा तनहुँ उद्योग वाणिज्य संघले स्वर्ण स्मारक स्थापना गरेको छ । स्मारकले पुरानो बजार बन्दीपुरको पुरानो व्यापारिक विरासतलाई स्मरण गराइदिएको छ । तनहुँको व्यापारिक पहिचान र विकासका लागि बन्दीपुरले खेलेको भूमिका धुमिल बने पनि संघको स्मारकले ताजा बनाइदिएको छ । बन्दीपुरको व्यापार सदरमुकामको स्थानान्तरण र पृथ्वी राजमार्गको स्थापनासंगै खस्कन थालेको थियो । र, एक समय यो मृत सहरकै रूपमा रहन पुग्यो । बन्दीपुरको योगदानलाई बिर्सिसकेका धेरैलाई तनहुँ उद्योग वाणिज्य संघको स्मारकले धुमिल सम्झनालाई ताजा बनाइदिएको छ । यसर्थ इतिहास सम्झने तनहुँ उद्योग वाणिज्य संघको कदमलाई बन्दीपुरेले भित्रैदेखी सम्झेका छन् । 
बन्दीपुर व्यापारिक हिसाबले कमजोर बने पनि पर्यटकीय हिसाबले यसले यसबीचमा नयाँ पहिचान बनाएको छ । पुरानो सांस्कृतिक पहिचान बोकेको बन्दीपुरलाई त्यसैको सहयोगबाट पर्यटकीय केन्द्रका रुपमा चिनाउने प्रयास स्थानीयले गरेका छन् । तर पनि बन्दीपुरले व्यापारिक हिसाबले गुमाएको पहिचान पर्यटनका माध्यमबाट लिंदै गर्दा इतिहासको पनि सम्मान खोजेको छ । बन्दीपुर व्यापार संघबाट उदाएको तनहुँ उद्योग वाणिज्य संघको कदमले इतिहासको सम्मान र बन्दीपुरलाई नयां पथमा हिंड्न हौसला प्रदान गरेको छ ।