ऋषिङको विकासका आशा

जिल्लाकै विकट क्षेत्रको पहिचान पाएको ऋषिङ गाउँपालिका क्षेत्रमा विकासका लागि गरिनुपर्ने काम धेरै छन् । तर शुरुवात सुखद् यात्राको देखिएको छ । तनहुँमा धेरै बजेट खर्च गर्नेमध्येको सूचिमा परेको ऋषिङले केन्द्र सरकारबाट लोभलाग्दो वित्तिय अनुदान हात पार्न सफलता पाएको छ । यो पनि उसको प्रगतिपथका लागि सुखद् संकेत हो । सडकको पूर्वाधारको कमजोर उपस्थिती अनि विद्युत र सञ्चारका सुविधाको अनुपस्थितीले ऋषिङको विकासमा तगारोको काम गरेको थियो । तर अहिले परिस्थिती बदलिएको छ । गाउँमै पुगेको सिंहदरबारले अब काठमाडौंको सिंहदरबारभन्दा त्यहींकै सिंहदरबार विकासका लागि धेरै हदसम्म निर्णायक भनेको छ । यसर्थ त्यस ठाउँको विकास त्यहींकै हातमा छ । अनि यसका लागि पहिलो वर्षका सकारात्मक काम थालेको गाउँपालिका नेतृत्वबाट आगामी वर्ष झनै धेरै अपेक्षा नागरिकले गरेका छन् । ऋषिङ क्षेत्रमा विकासका पूर्वाधारको जग बलियो पार्नका लागि सडकको विस्तार, विद्युतीकरणलगायतका क्षेत्रमा भैरहेका कामले अब ऋषिङ कछारका रुपमा नरहने संकेत गरेका छन् । गाउँमै पूर्वाधार पुगेमा कोही मानिस सहर झर्दैन । विगतमा देखिएको विकासको खाल्डाका कारण सदरमुकाम र सहर झर्ने जमात बढेको हो । विकासका लागि जनप्रतिनिधिले पारदर्शिताका साथ काम गरेमा ऋषिङले थोरै समयमा पनि काँचुली फेर्न सक्छ ।