विपद् रोकथाममा स्थानीय सरकारको भूमिका

वर्षायाम शुरु भएको छ । वर्षायाम शुरु भएसँगै विभिन्न भागमा बाढी पहिरोका समस्या देखिन थालेका छन् । केही वर्ष अघिसम्म तनहुँका केही विकट भागहरुसमेत बाढी पहिरोको चपेटामा परेर धनजनको ठूलै क्षति हुने गरेको थियो । अहिले पनि त्यसो नहोला भन्न सकिन्न । यसर्थ सम्भावित प्रकोपबाट जोगिनका लागि सतर्कताका कदमहरु चाल्नु आवश्यक छ । विपद्का समयमा बढी तात्नुभन्दा पहिल्यै सतर्क भएर बस्नु राम्रो हो । यसर्थ सम्भावित जोखिमपूर्ण क्षेत्रमा स्थानीय सरकार, प्रहरी, प्रशासनले विशेष सतर्कता अपनाउनु आवश्यक छ । तनहुँमा जिल्ला प्रकोप व्यवस्थापन समितिले केही सम्भावित जोखिमका क्षेत्रको पहिचान गरी आवश्यक सतर्कता अपनाउने निर्णय पनि गरेको छ । यो सकारात्मक काम हो । तर निर्णयले मात्र हुँदैन । तम्तयार साँच्चिकै रहनुपर्दछ । जिल्लाको दक्षिणी क्षेत्र जाने श्रृंगपथ अवरुद्ध हुँदा तत्काल खुलाउन सकिएन । यसले निर्णयमा लेखिएका सबै कुरा व्यवहारमा जाँदैनन् भन्ने पुष्टि गर्दछ । अब स्थानीय सरकार पनि आफ्नो क्षेत्रलाई प्रकोपको जोखिमबाट कम गराउनका लागि सतर्क बन्नु जरुरी छ । यसका लागि योजना र समयमै सतर्कता अनि आवश्यक परे माथिल्ला तहबाट पनि साथ र सहयोग लिन स्थानीय सरकारले ढिला गर्नुहुन्न । यसका लागि विगतका इतिहास र अहिलेको अवस्थाको तुलना गरेर पनि सम्भावित जोखिमका क्षेत्र पहिचान गर्न सकिन्छ ।