पहिले बालश्रम रोकौं

बालबालिकाको हक र अधिकारका बारेमा हामी बेलाबखत चर्चा परिचर्चा गर्छौं । उनीहरुको हक अधिकारका लागि हुने कोठे बैठकको संख्यामा कमी छैन । तर बालश्रमको समस्या ज्युँका त्युँ छ । सहरी क्षेत्रमा सबैको आँखामै पर्ने गरी बालबालिकाले श्रम गरेको कुरा कसैबाट छिपेको छैन । बजारका होटल मात्र हैन बाल अधिकारका ठूला नारा दिने व्यक्तिहरुको घरमा हेर्ने हो भने पठनपाठनमा सहयोग भन्दै बालबालिकालाई श्रममा लगाइएका धेरै घटना भेट्न सकिन्छ । बाल अधिकारका धेरै पाटा होलान् । बालमैत्री शिक्षा पनि अहिले नयाँ अवधारणाका रुपमा आइरहेको छ । तर हामीले हेर्ने हो भने ठूलो समस्याका रुपमा बालश्रम देखिइरहेको छ । बालश्रमको अन्त्य नहुँदासम्म बालमैत्री शिक्षा, बालबालिकाको चौतर्फी विकासका विभिन्न पाटोबारे बहस निरर्थक हुन्छ । सबैभन्दा पहिले बालबालिकाको पढ्न अनि अनुकुलको वातावरणमा बस्न पाउनुपर्ने हकको रक्षा जरुरी छ । यसका लागि बाल संरक्षणका क्षेत्रमा सक्रिय अधिकारकर्मीहरु बैठक मात्र भन्दा स्थलगत अनुगमन र कार्यान्वयनमा जानु जरुरी छ । नागरिक समाज पनि यस्ता काममा सहयोगी बन्नु जरुरी छ । नियम पालना गर्न भूमिका खेल्ने प्रहरी प्रशासनको सक्रियता यस क्षेत्रमा अपेक्षित छ ।