वन विकासमा ध्यान जाओस्

तथ्यांकले तनहुँ वन क्षेत्रमा धनी देखाएको छ । कुल क्षेत्रफलको आधा बढी हिस्सा वन ओगटेको तनहुँका धेरै तहहरु वन सम्पदामा धनी छन् । सामुदायिक वन उपभोक्ता समूहको प्रभावकारिता तथा वन संरक्षणमा चालिएका पर्याप्त कदमका कारण वन क्षेत्रको स्थिती तनहुँमा बलियो छ । नियमनको कमजोर अवस्थाका कारण दक्षिण क्षेत्रका केही तहबाट लुकिछिपी तस्करी भैरहे पनि समग्रमा तनहुँमा वन क्षेत्रको संरक्षण बलियो छ । तर जिल्ला वन कार्यालय संघीयताका कारण निष्प्रभावी भएका बेला स्थानीय तहले वन संरक्षणका लागि बजेट र कार्यान्वयनका लागि विशेष योजना नल्याउँदा वन क्षेत्रको संरक्षण कमजोर हुनसक्ने सम्भावना छ । स्थानीय सरकार सर्वेसर्वा भएका बेला विकासलाई बाटो र भौतिक पूर्वाधारसँग मात्र सीमित नगरेर समग्र पाटामा ध्यान दिन जरुरी छ । पछिल्ला समय कृषि तथा अन्य क्षेत्रमा स्थानीय तहहरुको लगानी र गतिविधि कमजोर देखिएको छ । देखिने खालका भौतिक पूर्वाधारमा रमाउने स्थानीय तहहरुले उल्लिखित क्षेत्रमा यसअघि कर्मचारीतन्त्र हुँदाजति प्राथमिकता नदिनु सुखद् लक्षण हैन । बाटो र विकासका अरु पूर्वाधारसँगै कृषि, वनलगायतका क्षेत्रमा पनि लगानी जरुरी छ । स्थानीय सरकारले यसतर्फ समयमै ध्यान दिनुपर्छ ।