मुग्लिङ नारायणगढको जोखिमपूर्ण यात्रा

 दमौली । दिनहुँ पहिरो खस्ने क्रम चले पछि मुग्लिङ नारायणगढ सडकखण्डको यात्रा जोखिमपूर्ण बन्न पुगेको छ । हालै निर्माण सकिए पनि वर्षायाम शुरु हुनसाथ सडकखण्डका विभिन्न भागमा पहिरो खस्ने क्रम चलेको छ । सोमबार विहानैदेखि एकतर्फी भएको बाटो मध्यह्नबाट पूर्णरुपमा अवरुद्ध भएको थियो । मुग्लिङ नारायणगढ सडक आयोजनाक सूचना अधिकारी शिव खनालका अनुसार सोमबार टोपेखोला भन्ने ठाउँमा खसेको ठूलो पहिरोका कारण यातयात रोकिएको हो । दिनभरको प्रयासपछि साँझ ६ बजेबाट सडक एकतर्फी भएको थियो । पानी पर्नासाथै ठाउँ ठाउँमा स साना पहिरो खसे पनि टोपे खोलामा ठूलो पहिरो खसेकाले सडक दिनभर अवरुद्ध बनेको हो । यसअघि पनि सोही ठाउँमा खसेको पहिरो हटाउन ११ घण्टा लागेको थियो । सडकका अन्य भागमा साना तिना पहिरो झरे पनि यातायात लामै समय अवरुद्ध हुने अवस्था भने नरहेको खनालले बताए । वर्षायाममा बाटो अवरुद्ध हुन नदिनका लागि आयोजनाको ठेकेदार कम्पनीका डोजर तैनाथ गरिएका 
छन् । पहिरो रोकथामका लागि जाली राखेको ठाउँमा पनि पहिरो खसेकाले जोखिम बढाएको छ । ठाउँ ठाउँमा पहिरो खसेर सडक अवरुद्ध हुने क्रम बढे पछि ट्राफिक प्रहरीले सडकको विकल्पमा रहेका पोखरा बुटवल सडक  तथा त्रिभुवन राजपथ प्रयोग गर्न सूचना जारी गरेको छ ।
एसएमएसबाट पहिरोको जानकारी
सडक अवरुद्ध भएर यात्रु सडकमै अलपत्र पर्ने क्रम बढेपछि नारायणगढ मुग्लिङ सडक आयोजनाले एसएमएसबाट सडकको अवरोधबारे जानकारी दिने प्रवन्ध गरेको छ । मोबाइलमा गएर एनएमटी टाइप गरेर ३४८४८ मा सन्देश पठाएमा पहिरोबारे जानकारी प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको आयोजनाले जनाएको छ ।
तनहुँमा हाइ एलर्ट
वर्षायाम शुरु भएसँगै तनहुँका विभिन्न भागमा आउनसक्ने प्राकृतिक विपत्तिसँग जुध्नका लागि सतर्क अवस्थामा बसिएको तनहुँ प्रशासनले जनाएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले यसअघि नै विपद् व्यवस्थापन समितिको निर्णयअनुसार नै प्रशासन, सुरक्षा संयन्त्र र सम्बन्धित उद्धारका निकाय सचेत अवस्थामा बसेको जानकारी दिए । सोमबार बिहानै ऐनापहरोस्थित पृथ्वी राजमार्गमा पहिरो झरेकामा सोही क्षेत्रमा राखिएको डोजर परिचालन गरेर सडक एकतर्फी तत्काल खुलाइएको थियो । 
दिउँसोतिरबाट सडकमा दुईतर्फी यातायात सञ्चालन भएको पौडेलले बताए । अन्यत्रबाट कुनै पनि खतराका सूचना नआए पनि नदी नजिकका क्षेत्र र राजमार्गमा केही घटना घटेमा उद्धारका लागि प्रहरी, सेनासहितका सुरक्षा निकाय र सडक डिभिजन कार्यालयको डोजर तयार अवस्थामा राखिएको पौडेलले 
बताए ।