‘गुण्डागर्दी’ गर्ने दुई पक्राउ

दमौली  । तनहुँ प्रहरीले ‘गुण्डागर्दी’मा संलग्नताको अभियोगमा दुई युवालाई पक्रेको 
छ । उनीहरु दुवै ज्यान मार्ने उद्योगका फरार अभियुक्त रहेको प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बताए । 
पक्राउ पर्नेमा व्यास ४ हरिओम टोलका २५ वर्षका साजन शाही र म्याग्दे ७ रानीस्वाँरा घर भै हाल पोखरा बस्दै आएका ३० वर्षका विकास नेपाली छन् । साजन गत भदौ १६ गते व्यास ७ सत्रसयमा स्थानीय तीन युवाहरु चुनबहादुर गुरुङ, चिमानसिं गुरुङ र विजय क्षेत्रीलाई खुकुरी प्रहार घटनामा फरार हुन् । व्यास १० को पिजन हिल होटलबाट उनलाई सोमबार राती पक्रिएको एसपी शाहले बताए । यसैगरी दमौलीको तत्कालीन डूाइभ इन होटलमा गत भदौ २० गते बन्दीपुरका बिरेन गुरुङमाथि धारिलो हतियार प्रहारको आरोपमा नेपाली पक्राउ परेका हुन् । नेपालीविरुद्ध अमिर गुरुङले जाहेरी दिएका थिए  । उनीमाथि म्याग्दे गाउँपालिका वडा नं. ६ मा सन्जिब राईसमेतमाथि हतियार प्रहार गरेको अर्को अभियोग पनि छ । 
पक्राउ दुवैलाई कारबाहीका लागि अदालतमा बुझाउने प्रहरीले जनाएको छ । 
मिटर ब्याजी पनि पक्राउ
प्रहरीले मिटर ब्याज असुलीमा सक्रिय भन्दै एक महिलालाई समेत पक्रेको छ । स्थानीइ गण्डकी बहुद्देश्यीय सहकारी संस्थामा कार्यरत स्थानीय ३८ वर्षिया कल्पना कैनी खड्काले मिटर ब्याज असुलेको उजुरीका आधारमा पक्राउ गरेर ठगी मुद्दामा अनुसन्धान थालिएको प्रहरी उपरीक्षक शाहले बताए । खड्काविरुद्ध स्थानीय आशरुपी गुरुङसहितका स्थानीयसँग मिटर ब्याज असुलेको अभियोग छ । उनीविरुद्ध अदालतबाट अनुमति लिएर अनुसन्धान थालेको शाहले बताए । तनहुँमा मिटर ब्याज सम्बन्धम कोही पक्राउ परेको यो पहिलो घटना हो ।