पुलचोकमा जाओस् ध्यान

ज्यानै धरापमा राखेर बाँचिरहेका शुक्लागण्डकीका बासिन्दाको जीवनरक्षा र समस्या समाधान अहिलेको प्रमुख मुद्दा बन्न पुगेको छ । ३० भन्दा बढी घर जोखिममा रहेकाले वस्ती सार्न भनिए पनि अझै सबै परिवारले छाडेका छैनन् । पहिले सेती अहिलेको ठाउँ भन्दा तलबाट बग्दा निर्वाध रुपमा बसिरहेका शुक्लागण्डकीको पुलचोकका बासिन्दा अहिले नदी माथिबाट बग्न थाले पछि त्रासमा बसिरहेका छन् । विकल्प हुनेले अन्यत्र बसोबास गरे पनि सबैका  लागि त्यो सुविधा छैन । फलतः उनीहरु त्रासमै बाँचिरहेका छन् । प्राकृतिक प्रकोपलाइ रोक्न नसकिए पनि उचित व्यवस्थापन गर्ने हो भने क्षति कम गर्न 
सकिन्छ । पहिलेको चल्तीको बजार पुलचोकका बासिन्दाको एउटै माग छ, सेतीमाथि खसेको चट्टानको व्यवस्थापन । यदि त्यसो हुन सकेमा नदी तल्लो तहबाटै बग्ने भएकाले थप जोखिम नहुने उनीहरुको तर्क छ । यसबारे प्रशासनले अनुसन्धान गर्नु जरुरी छ । यदि त्यसो गर्न सम्भव छ भने उनीहरुका लागि विकल्प खोजिनुपर्छ । भोली क्षति भैहाल्यो भने केही गर्न सकिन्न । तर समय छँदै विकल्प खोज्ने हो भने उजाडिन लागेको वस्ती जोगाउन सकिन्छ । यदि सेतीमाथि ब्लाष्टिङ गरेर अहिले माथिल्लो भागमा आएको चट्टान बगाउन सकिए त्यसले ढोरफिर्दी जाने पुलमाथिबाट सेती बग्ने समस्या पनि रोकिन्छ  । जसकारण पारिपट्टीका बासिन्दालाई पनि प्रत्यक्ष धेरै फाइदा पुग्ने सम्भावना छ । अध्ययन गरेर त्यस विकल्पबारे आवश्यक कारबाही गर्न प्रशासनलगायत सम्बद्ध निकायको ध्यान 
जाओस् ।