शिक्षामा हात बा“धेर बस्दैनौंः मेयर न्यौपाने

दमौली । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेले सबै वडामा स्वास्थ्य केन्द्र स्थापना हुने बताएका छन् । मंगलबार अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक र मानव अधिकार निगरानी समूहले दमौलीमा आयोजना गरेको शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकारसम्बन्धी अन्र्तक्रियामा न्यौपानेले व्यास ७ बाहेक सबै वडामा स्वास्थ्य एकाई भएको बताए । 
उनले व्यास ७ मा पनि सहरी स्वास्थ्य केन्द्रका लागि १० लाख बजेट विनियोजन गरिएको बताए । शिक्षाका क्षेत्रमा नगरपालिकाले बनाएको ऐनको कतिपय शिक्षकहरुबाटै आलोचना हुने गरेको छ । प्रमुख न्यौपानेले संविधानले दिएको अधिकार र स्थानीय सरकार सन्चालन ऐनको व्यवस्था अनुसार शिक्षा तथा शिक्षकसम्बन्धी व्यवस्था गरेको भन्दै कानून छैन भनेर हात बाँधेर नबस्ने चेतावनी दिए । 
तर विद्यालयमा पर्याप्त शिक्षक दरबन्दी नहुनुमा भने आफ्नो दोष नभएको उनले दाबी गरे । ‘शिक्षक दरबन्दी स्थानीय सरकारले दिन सक्दैन,’ उनले भने,‘यसका लागि सरकारको साथ चाहिन्छ ।’
नगर प्रमुख न्यौपानेले बाबु आमा नभएका तथा अभिभावकबाट संरक्षण नपाएका बालबालिकाका लागि जोखिमयुत्त कोषको व्यवस्था गरिने बताए । नगरपालिकाले नगर क्षेत्रका कोही पनि बालबालिका विद्यालयबाहिर रहने अवस्था आउन नदिनका लागि तथ्यांक संकलन थालेको भन्दै विद्यालयबाहिर रहेकाहरुका लागि शिक्षाको व्यवस्था मिलाउन नगरपालिका प्रतिवद्ध रहेको बताए । 
अन्र्तक्रियामा कृषि क्षेत्र पछि परेको भन्दै सोधिएको प्रश्नमा न्यौपानेले हालको नगरपालिकाको नयाँ भवन बनेपछि कार्यालय प्रागणमै हाट बजार चलाउने बताए ।
हप्तामा एक वा दुई दिन हाट चलाएर किसानका उत्पादन बिक्रीको प्रबन्ध मिलाउने व्यवस्थ ागर्न लागिएको उनले दाबी गरे । न्यौपानेले एक करोड १५ लाख कृषि क्षेत्रका लागि विनियोजन गरेको पनि जानकारी दिए । नगरपालिकाले फोहोर प्रसोधन केन्द्रका लागि ३० लाख छुट्याएको र अब कुहिने र नकुहिने छुट्याएर प्रसोधनको काम थालिने उनले  बताए । अन्र्तक्रियामा सहभागीले नगरपालिकाले बजारका विभिन्न भागमा पानी जम्ने अवस्था आउँदा पनि ध्यान नदिएको पनि गुनासो गरेका थिए । मानवअधिकार निगरानी समूह अध्यक्ष रामलीला सुवर्णकारले स्थानीय सरकारको जिम्मेवारी बढाउन र शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको प्रत्याभुतिका लागि कार्यक्रम गरिएको बताए । इन्सेक पोखराका संयोजक शिव खकुरेलले शिक्षा, स्वास्थ्य र खाद्य नागरिकको मौलिक हक रहेको हुँदा ति विषयहरुमा स्थानीय तहले गम्भिर भएर कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने बताए ।
कार्यक्रममा इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले सहजीकरण गरेका थिए । सहभागी पत्रकार, व्यवसायी, किसान, युवा तथा विद्यार्थीले नगर प्रमुख न्यौपानेसँग नगरपालिकाका सेवाबारे जिज्ञासा राखेका थिए ।