नेकपाभित्रै प्रदेशको नाममा किचलो

 दमौली  । प्रदेश नम्बर ४ को नामकरणका लागि तय भएको मंलबारको बैठक स्थगित भएको छ । सोमबार राजधानीको टुंगो लगाएको सभामा मंगलबार नामका बारेमा छलफल हुने कार्यसूची थियो । यसअघि नै नामकरणका लागि सुझाव संकलनसहित सिफारिसका लागि सभाले जिम्मा दिएका सांसद बिन्दुकुमार थापा नेतृत्वको टोलीले उपयुक्त नामको प्राथमिकिकरणसहितको प्रतिवेदन पेश गरेको थियो । प्रतिवेदनमा गण्डकीमा अधिक जनताको प्राथमिकता परेको उल्लेख छ । 
दोश्रोमा तमुवान मगरात र तेश्रोमा गोरखा प्रदेश राख्ने सुझाव समितिको छ । बैठकमा प्रतिवेदनमाछि छलफलपश्चात नामको टुंगो लगाउने तयारी गरिएको थियो । तर विपक्षीहरुबीच नामका विषयमा करिब एकमत रहे पनि सत्तापक्षबीच नै विवाद देखिएपछि सूचना टाँस गरेर बैठक स्थगित गरिएको श्रोतको दाबी छ । सोमबार प्रदेशको राजधानीका विषयमा मात्र सभामा छलफल भएर पोखरा नै राजधानी राख्ने तय भएको थियो । मंगलबार भने सभाले नामको टुंगो लगाउने तयारी गरेको थियो । प्रदेश सभा सचिवालयले दुई दिनका लागि बैठक विशेष कारणवश स्थगित भएको सूचना टाँस गरेको छ । नेकपामा रहेको तत्कालीन एमालेको ठूलो हिस्सा गण्डकी नामका विषयमा सहमत भएको श्रोतको दाबी छ । तर माओवादी पृष्ठभूमिका सांसदहरु तमुवान मगरात वा गण्डकी तमुवान नामका पक्षमा छन् । संसदीय दलको बैठकमा यी दुवै नामका विषयमा उनीहरुले प्रस्ताव गरेका थिए । बैठकमा गण्डकी नाममा सहमत हुनेको संख्या बढी रहेको दाबी श्रोतको छ । सत्ताधारी दलबीच नै नाममा विवाद भएकाले निरुपणका लागि कार्यव्यवस्था परामर्श समितिको सहमतिमा सचिवालयले बैठक स्थगित गरेको हो । प्रदेशमा प्रतिनिधित्व गर्ने कांग्रेस र जनमोर्चा गण्डकी नामकै पक्षमा छन् । नयाँ शक्तिले भने तत्कालीन माओवादीको लाईन गण्डकी तमुवानलाई पहिलो प्राथमिकता दिएको छ ।