प्रदेश सांसदको यातायात भत्ता दोब्बर

पोखरा । प्रदेश नम्बर ४ सरकारले सांसदको यातायात खर्च दोब्बर पारेको छ । यसअघि साढे सात सय यातायात खर्च पाउँदै आएका उनीहरुको खर्च दोब्बर पारिएको छ । प्रदेश मन्त्रिपरिषदको बुधबारको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि प्रदेश सांसदको तलब ४५ हजार तय भएको थियो । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङको संयोजकत्वमा सांसदहरु गम्भीर बिरामी पर्दा सहयोग गर्ने मापदण्ड तयार पार्नका लागि एक समितिसमेत गठन गरिएको छ । समितिमा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान, सामाजिक विकासमन्त्री नरदेवी पुन सदस्य र मन्त्रिपरिषदको कार्यालयका कानुन सचिव धर्मराज कुँइकेल सदस्य सचिव छन् । समितिले मुटु, मृगौला, क्यान्सर वा गम्भीर खालका स्वास्थ्य समस्यामा सांसदलाई सघाउन आवश्यक नीति तय गर्ने जिम्मा पाएको छ । समितिले मापदण्ड तथा कार्य्विधि निर्माण गरी त्यस्तो अवस्थामा आर्थिक सहयोगका लागि सरकारलाई सिफारिस गर्ने मन्त्रिपरिषदको कार्यालयका सचिव लालमणि ओझाले जानकारी दिए ।
प्रदेश वन्यजन्तु उद्दार केन्द्रसम्बन्धी कानुन तर्जुमा गर्न मन्त्रिपरिषदले सैद्धान्तिक स्वीकृति दिएको छ । सरकारले प्रदेशस्तरीय वन्यजन्तु उद्धार केन्द्र स्थापना गर्ने नीति लिएको छ । 
यस्तै प्रदेश प्राणी उद्यान सम्बन्धी कानुन तर्जुमा गर्न सरकारले अर्को सैद्धान्तिक सहमति दिएको छ । प्रदेशस्तरीय चिडियाखाना निर्माणलाई सरकारले ल्याएको नीति तथा कार्यक्रममा महत्वका साथ ल्याइएको थियो ।