जिल्ला युवा समितिद्वारा युवा सम्मान

 दमौली  । जिल्ला युवा समिति तनहुँले उदाहरणीय कार्य गरेको भन्दै सम्मान गरेको छ । युवा प्रतिभा पहिचान कार्यक्रमअन्र्तगत समितिले विभिन्न क्षेत्रमा उदाहरणीय कार्य गरेको भन्दै उद्यमी, खेलाडि तथा कृषकलाई सम्मान गरेको हो । प्रदेश सांसद आशा कोइरालाले भानु ५ को चुँदी युवा कृषक समूहका अमृत अधिकारी, निखिल ढाका कपडा उद्योगका दिनेश चौधरी र कराँते प्रशिक्षक व्यास ४ का कर्णबहादुर गुरुङलाई सम्मान गरिन् । समितिले हरेक वर्ष कार्यक्रमअन्र्तगत युवालाई सम्मान गर्दै आएको छ । उनीहरुलाई दोसल्लातथा नगदका साथमा सम्मान गरिएको हो । समितिको आयोजनामा सोही अवसरमा वक्तृत्वकला प्रतियोगितासमेत सम्पन्न भएको छ । २४ वर्षसम्मकाले सहभागीता जनाउन पाउने प्रतियोगितामा अधिकांश विद्यालयका विद्यार्थी सहभागी थिए । प्रतियोगितामा सत्यवती माविकी अतिथि भण्डारी प्रथम भएकी छन् । यसैगरी निर्मल माविकी सुस्मिता चौधरी दोश्रो तथा आदिकवि भानुभक्त क्याम्पसकी सुनिता विक प्रतियोगितामा तेश्रो भएकी छन् । सहभागीले समृद्ध नेपाल, सुखी नेपाली अभियानमा युवाको भूमिका विषयमा भाषण गरेका थिए । प्रथमलाई छ हजार, दोश्रोलाई पाँच हजार र तेश्रोलाई चार हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै पूर्वमन्त्रीसमेत रहेकी कोइरालाले युवाको भूमिका हरेक क्षेत्रमा बढी भएको बताइन् । उनले युवाको प्रतिभा पहिचान गर्दै राज्यले बढी लाभ लिनुपर्ने सुझाव दिइन् ।
कार्यक्रममा शैक्षिक तालिम केन्द्र चापाघाटका प्रमुख विष्णुनारायण श्रेष्ठ, नेकपा नेता मदन आले, पत्रकार महासंघ अध्यक्ष ओमकार आचार्य, महिला तथा बालबालिका कार्यालयकी निमित्त प्रमुख राधा वाग्ले, समितिका कार्यालय प्रमुख नेपालहरि रानाभाट, समितिका सदस्यहरु दुर्गा भण्डारी तथा युवराज दरैलगायतले बोलेका थिए ।