प्रदेश ४ को नाम अब ‘गण्डकी’ नेकपाको विवादपछि गण्डकीमै सहमति

दमौली  । नामकै विषयमा दलभित्र किचलो देखिए पछि प्रदेश सभा बैठक नै स्थगित गरेर सहमतिका लागि थालेको नेकपाको प्रयास मतदानमा टुुंगिएको छ । 
बहुमतले ‘गण्डकी’ नामका पक्षमा मतदान गरे पछि पार्टी संसदीय दलको बैठकले यसअघि कांग्रेस र जनमोर्चाले लिएको लाइनमै अघि बढ्ने निर्णय गरेको छ । दुवै दलले यसअघि नै गण्डकी नाम कायम हुनुपर्ने बताएका थिए । तर नेकपाका तत्कालीन माओवादी पृष्ठभूमिका केही सांसदले गण्डकी तमुवान नाम राख्नुपर्ने माग गरेका 
थिए । संसदीय दलििभत्र विवाद हुनसक्ने देखिएपछि मंगलबारका लागि तय प्रदेश सभा बैठक नै कार्य व्यवस्था परामर्श समितिको परामर्शमा स्थगित भएको थियो । बुधबार बसैको बैठकमा गण्डकी नामका विषयमा सहमति भएको सार्वजनिक भएको 
छ । यसअघि तमुवानको पक्षमा वकालत गर्दै आएका संसदीय दलका नेता एवं मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पछिल्लो समय पुरानो अडानबाट पछि हटेका थिए । 
प्रदेश सभाले नाममा सुझाव संकलनका लागि गठन गरेको सांसद बिन्दुकुमार थापा संयोजकत्वको टोलीले पनि गण्डकी नामलाई पहिलो प्राथमिकतामा राखेको थियो । धेरै ठाउँबाट गण्डकी नाममा मत आएको भन्दै पहिलो प्राथमिकतामा गण्डकी सिफारिस गरेको समितिले त्यसपछि मगरात तमुवान नाम सिफारिस गरेको थियो ।
विवाद देखिएको नेकपाले धारणा स्पष्ट गरेपछि अब गण्डकी नाममा प्रदेशको ५९ मध्ये ५६ जना पक्षमा देखिएका छन् । दुई सदस्य रहेको नयाँ शक्ति पार्टीले भने मगरात तमुवान नामका पक्षमा सहमति जनाएको थियो । अब बिहिबार हुने मतदानमार्फत गण्डकी नाम प्रदेशले पाउँदैछ । यसअघि कर्णाली प्रदेशले मात्र नाम पाएको छ ।