अनुगमनमा गुणस्तर हेरौं

असार मसान्त नजिक भएकाले अहिले सबैजसो विकासे अड्डा हिसाबकिताब मिलाउन व्यस्त छन् । धेरै बजेट गएका कारण स्थानीय तहमा अहिले हिसाबकिताब मिलाउने चाप बढेको छ । असार मसान्तभित्रै बजेट सक्नुपर्ने र हिसाब फरफारक गर्नुपर्ने भएकाले यसअघिका अवधिमा योजनाको अनुगमन र मूल्यांकन हुन्छ । हाम्रा अनुगमन देखाउनकै लागि मात्र हुन् कि जस्ता लाग्छन् । किनभने अनुगमनका क्रममा दोषी भेटिएको र कारबाही भएको उदाहरण निकै कम सुन्न पाइन्छ । यसकारण पनि अनुगमन अनुगमनकै लागि हो जस्तो भएको छ । अनुगमनका क्रममा कामको गुणस्तर हेर्ने र त्यसमा खोट भए दोषी पक्षमाथि कारबाहीको अधिकार अनुगमन टोलीलाई हुन्छ । तर व्यवहारमा यस्ता अवस्था निकै कम आएका छन् । यसले अनुगमनको वास्तविक लक्ष्य पुरा नभएको देखाउँछ । यसर्थ पनि अनुगमनको प्रभावकारिता नदेखिएको हो । यसले अनुगमनमा अड्किएको अनियमितता रोक्ने काम नै रोकिन पुगेको छ । अनुगमनले नै काम गुणस्तर भए नभएको निर्धारण गर्ने भएकाले यसलाई प्रभावकारी बनाउन अनुगमन टोलीसमेतको अनुगमन हुनुपर्ने अवस्था श्रृजना गरेको छ । कतिपय अवस्थामा काममा भएको कमी कमजोरीमा अनुगमनकारी निकायलाई खुशी पारेर चित्त बुझाएपछि क्लिनचिट पाइने चर्चा चलिरहँदा स्थानीय सरकार तथा प्रशासनले यसतर्फ विशेष चासो देखाएर काम गर्नुपर्ने देखिएको छ ।