गण्डकी प्रदेशको नाम सच्याउन जनजातिको माग

दमौली  । तनहुँका जनजाति समुदायले गण्डकी प्रदेशको नामकरणको विरोध गरेका छन् । आईतबार दमौलीमा ¥याली निकाल्दै उनीहरुले जनजातिको पहिचानका आधारमा तमुवान मगरात नामकरण हुनुपर्ने माग गरे । दमौली बजारका विभिन्न भागको परिक्रमा गर्दै अनशन चौतारीमा सभा गरिएको थियो । सभामा बोल्ने वक्ताहरुले जनजातिको पहिचानलाई समेत प्रदेशको नाममा समेटिनुपर्नेमा नभएको भन्दै आक्रोश पोखे । नेपाल मगर संघकी केन्द्रीय उपाध्यक्ष मन्धरी आलेले पहिचान मेट्ने काम प्रदेश सभाबाट भएको भन्दै आक्रोश पोखिन् । उनले नाम नसच्याउँदासम्म आफूहरु सडक संघर्षमा उत्रने चेतावनी दिइन् ।
आदिवासी जनजाति महासंघ तनहुँकी अध्यक्ष बसुन्धरा घर्तीले जनजाति समुदायको चाहनालाई मेटाउने काम भएको आरोप लगाइन् । उनले आफूहरु नाम सच्याउनका लागि बाध्य भएर सडक संघर्षमा उत्रनु परेको बताइन् । नेपाल मगर संघका अध्यक्ष सिद्धान्त थापाले गण्डकीसँगै तमुवान र मगरातसमेत नाम जोडेर जनजातिको पहिचानकोसमेत सम्मान हुनुपर्ने बताए । तमु ह्युल छोंज धिका जिल्ला अध्यक्ष खेमराज गुरुङ, आदिवासी जनजाति महासंघका जिल्ला सचिव मनिराज थापालगायतले कार्यक्रममा बोल्दै गण्डकी नाम सच्याउन प्रदेश सरकारको ध्यानाकर्षण गरे ।
प्रदेश सभाको बैठकले अत्यधिक बहुमतका साथ प्रदेशको नाम गण्डकी राख्ने शुक्रबार निर्णय गरेको थियो । मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङले सबै पक्षलाई समेटिएको बताएका थिए ।
यसैबीच, निर्णयको विरुद्ध आन्दोलन घोषणा गरेका जनजाति समुदायले सोमबार प्रदेश बन्दको आह्वानसमेत गरेका छन् । तमु ह्युला छोंज धिंका जिल्ला सचिव कुमार तमुले संघर्षका कार्यक्रमअन्र्तगत प्रदेश बन्दको आह्वान गरिएको
 बताए ।