महर्षिले संस्कृत सिकाउने

 दमौली । महर्षि वेदव्यास संस्कृत विद्यापीठ व्यास ३ दमौलीले प्लस टु वा सो सरह उत्तीर्ण गरेका विद्यार्थीहरुलाई संस्कृत भाषा प्रशिक्षण दिने भएको छ । 
अन्य विषय अध्ययन गरेर शास्त्री पढ्न चाहनेका लागि प्रशिक्षणले शैक्षिक मान्यता पाउने विद्यापीठका प्राचार्य तुलसीशरण सिग्देलले बताए । प्रशिक्षणपश्चात शास्त्री पढ्नका लागि सहभागी योग्य हुने उनले बताए । जुनसुकै विषयमा प्लस टु उत्तीर्ण गरे पनि प्रशिक्षणपश्चात शास्त्री अध्ययन गर्न पाइने भएकाले संस्कृत अध्ययन गर्न चाहनेका लागि यो राम्रो अवसर रहेको प्राचार्य सिग्देलले बताए ।
विद्यापीठसँगैको महर्षि वेदव्यास संस्कृत माविले संस्कृतमा प्लस टु तहको समेत अध्यापन गराउँदै आएको छ ।
यसअघि कक्षा १० सम्म मात्र संस्कृत पठनपाठन हुँदै आएकामा गत वर्षबाट विद्यालयले प्लस टु समेत अध्यापन गराउन थालेको हो ।