देवघाट गौरीटारमा प्रहरी बिट माग

 दमौली । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ गौरीघाटमा प्रहरी बिटको माग गरिएको छ । प्रहरी बिटका लागि स्थानीयको प्रतिनिधिमण्डलले जिल्लाका सुरक्षा अधिकारीहरुसँग भेट गरेको छ । देवघाट ५ देवघाटमा ईलाका प्रहरी चौकी भए पनि वडा नम्बर ५ को गौरीघाट ईलाकाबाट टाढा पर्ने र असुरक्षा बढेको भन्दै बिटका लागि स्थानीयले माग गरेका हुन् । त्यस क्षेत्रमा झै झगडा तथा चोरी बढेको तर ईलाकाबाट टाढा भएका कारण शान्ति सुरक्षाको महसुस हुन नसकेकाले बिटको माग गरेको भनाई स्थानीयको छ ।
भेटका क्रममा प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले आफूहरुका मागमा सहयोग गर्ने प्रतिवद्धता जनाएको भेटमा सहभागी स्थानीय प्रसन्न ढकालले जानकारी दिए । प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बिट राख्ने प्रक्रिया अघि बढेको जानकारी दिए । यसअघि पनि स्थानीयबाट माग आएका कारण बिट स्थापनाको प्रक्रिया अघि बढाइएको थियो ।