तरकारी लाइनको व्यवस्थापन जरुरी

वर्षा लागेसँगै व्यास नगरका केही भागहरुमा पानी जम्ने र हिंडडुल गर्न समस्या हुने अवस्था छ । खासगरी व्यास २ को खानेपानी कार्यालय अघिको क्षेत्र र २ का अन्य केही भागमा यी समस्या छन् । यसका अलावा वर्षायाममा सबैभन्दा समस्या पर्ने क्षेत्र नगरपालिकासँगै जोडिएको तरकारी लाईन पनि हो । पानीको निकास नहुनु र सडक छेउको खराब अवस्थाका कारण तुलनात्मक रुपमा सुन्दर दमौलीका नाममै कलंक लाग्ने गरेको छ । दमौलीको तरकारी लाईन नगरपालिकाले व्यवस्थापन गर्न नसकेको लामै समय भैसक्यो । कर्मचारीतन्त्रले सम्हाल्दादेखि देखिएको समस्या जनताका प्रतिनिधि निर्वाचित हुँदासम्म पनि हट्न सकेको छैन । यसर्थ यसतर्फ अब नगरपालिकाले विशेष ध्यान दिएर दमौलीको सुन्दरताको गरिमा जोगाउनु जरुरी भएको छ । यसबाहेक व्यास २ मा निर्माण चलेको नालाको काम मुख्य वर्षायाममासमेत नसकिंदा फोहोर भएको छ र हिंडडुल गर्न नागरिकलाई सास्ती पुगेको छ । सम्बन्धित वडा तथा नगरपालिकाको समेत जिम्मा रहने यस काममा निर्माण पक्षलाई सचेत गराउनका लागि ढिला भैसकेको छ । यस्ता निर्माणका काम वर्षायाममा समेत नसकिंदा बजारमा फोहोर, व्यवस्थापनमा असहजतालगायतका समस्या देखिएको छ । समग्रमा बजार क्षेत्रका यी साना तर ठूलो असर देखिने कामको व्यवस्थापनमा व्यास नगरपालिकाको ध्यान जानु जरुरी छ ।