लक्ष्मीभक्त नेविसंघ सह महामन्त्री

दमौली  । नेपाल विद्यार्थी संघका नेता लक्ष्मीभक्त खनाल केन्द्रीय सह महामन्त्रीमा मनोनित भएका छन् । केन्द्रीय अध्यक्ष नैनसिंह महरले खनाललाई सो पदमा मनोनित गरेका हुन् । नेविसंघको विधान २०२७ को छैटौं संसोधन २०७३ अनुसार खनाललाई सह महामन्त्रीको जिम्मेवारी प्रदान गरेको उल्लेख गर्दै केन्द्रीय अध्यक्ष महरले कार्यकाल सफलताको शुभकामना दिएका छन् ।खनाल यसअघि नेविसंघको केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष रहिसकेका छन् । लामो समयदेखि नेविसंघको राजनीतिमा सक्रिय खनाल २०६२÷०६३ सालको आन्दोलनताकासमेत नेतृत्वदायी भूमिकामा रहेका खनालले अब केन्द्रीय तहमा समेत संघ हाँक्ने अवसर पाएका छन् । खनालले सबै विद्यार्थीहरुको भावना प्रतिनिधित्व गर्दै संघलाई सबल बनाउन सक्रिय रहने प्रतिवद्धता जनाएका छन् । यसअघि तनहुँका विद्यार्थी नेताहरु गोविन्द भट्टराई र प्रदीप पौडेल संघको अध्यक्ष भैसकेका 
छन् । उनीहरु दुवै बहालवाला कांग्रेस केन्द्रीय सदस्य हुन् । खनालका लागि पनि यसले केन्द्रीय राजनीतिमा जाने बाटो सहज भएको छ ।