नाम सच्याउन माग गर्दै बन्द

दमौली  । गण्डकी प्रदेशको नाम सच्याउन माग गर्दै आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदको आह्वानमा गरिएको प्रदेश बन्दको आंशिक रुपमा असर प¥यो । 
बन्दका क्रममा विहान सबैरै चलेका सवारी साधन दिउँसोतिर भने पातलो चलेका थिए । सार्वजनिक सवारी साधन नचले पनि निजी प्लेटका सवारी साधन विहान चलेकामा दिउँसो बन्दकर्ताले रोकेका थिए । बन्दका क्रममा कुनै झडप वा तोडफोड भने भएन । दमौली बजारको सफा सडकका केही पसल बन्दका बाबजुद पनि खुलेका थिए ।
प्रदेश सभाले प्रदेश नम्बर ४ को नाम गण्डकी राख्ने निर्णय गरेसँगै जनजाति समुदायका केही पक्ष आक्रोशित छन् । त्यसैको विरोधमा सोमबार प्रदेश ४ बन्दको आह्वान गरिएको थियो । बन्दका क्रममा दमौली तथा आसपासका धेरैजसो सार्वजनिक विद्यालयमासमेत पठनपाठन भएका थिए । दमौली भोर्लेटार चोकमा आयोजित विरोध सभामा बोल्दै जनजाति नेताहरुले पहिचानकै आधारमा प्रदेशको नामकरण हुनुपर्ने 
बताए । उनीहरुले गण्डकी प्रदेशमा समेत जातिय पहिचान समेटेर प्रदेशको नामकरण गर्न सकिने बताए । सभामा नेपाल मगर संघकी उपाध्यक्ष मन्धरी आले, नेपाल आदिवासी जनजाति महासंघकी जिल्ला अध्यक्ष बसुन्धरा घर्ती, मगर संघ तनहुँका अध्यक्ष सिद्धान्त थापा, तमु ह्युल छोंज धिंका सचिव कुमार तमुलगायतले बोलेका थिए ।
दोहोरो राजनीति
गत शुक्रबार प्रदेश सभाको बहुमतले गण्डकी प्रदेश नामकरण गरेको थियो । नामकरणका क्रममा नयाँ शक्तिका २ बाहेक प्रदेश सभामा उपस्थित ५४ सदस्यले पक्षमा मतदान गरेका थिए । नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चा शुरुदेखि नै गण्डकी प्रदेशका पक्षमा थिए । तत्कालीन एमाले नेतृत्व गण्डकी प्रदेशकै पक्षमा भए पनि तत्कालीन माओवादी पृष्ठभूमिका तथा केही एमाले पृष्ठभूमिका नेतालेसमेत गण्डकी प्रदेशको नाममा विरोध जनाए पछि पार्टीले विवाद समाधान गरेको थियो । जनजाति पृष्ठभूमिका किरण गुरुङ संयोजक रहेको नेकपा एमाले प्रदेश ४ कार्यदलले गण्डकी प्रदेशकै पक्षमा मतदानका लागि आह्वान गरेको थियो । 
जनजाति पृष्ठभूमिकै पृथ्वीशुब्बा गुरुङ मुख्यमन्त्री रहेको नेकपा संसदीय दलमा गण्डकी प्रदेशकै नाममा सहमति जुटेको थियो । प्रदेश सभामा प्रतिनिधित्व गर्ने अधिकांश जनजाति सांसदकै समर्थनमा गण्डकी नाम पारित भए पनि उनीहरुकै मातहतका कार्यकर्ता विरोधमा उत्रनुले दोहोरो चरित्र देखिएको कतिपयको टिप्पणी छ । दमौलीमा भएको विरोधमा सहभागी मगर संघ केन्द्रीय उपाध्यक्ष मन्धरी आले जनमुक्ति पार्टी निकट हुन् । उनीबाहेकका जनजाति महासंघकी अध्यक्ष बसुन्धरा घर्ती, मगर संघ जिल्ला अध्यक्ष सिद्धान्त थापालगायत नेकपा तथा मगर संघ सचिव मनिराज थापा तथा तमु ह्युल छोंज धिंका सचिव कुमार तमु कांग्रेस पृष्ठभूमिका हुन् । आफ्नै नेतृत्व र समुदायका नेताले संसदमा गण्डकीका पक्षमा मतदान गरिरहँदा उनीहरुका अनुयायी सडकमा उत्रनुले कतिपयले विगतका एजेण्डा परिवर्तन गरेको देखिनबाट जोगिनका लागि मात्र बाध्यात्मक आन्दोलन ठान्ने गरेका छन् ।