मुग्लिङ नारायणगढको विकल्प खोजौं

मुग्लिङ नारायणगढ सडकखण्ड वर्षामा बन्द हुनु नियमितजस्तै बन्न थालेको छ । पानी पर्नासाथ पहिरो खस्ने र घण्टौं जाम हुने अवस्था सडक निर्माण करिब सकिन लाग्दा पनि परिवर्तन हुन सकेको छैन । यसले दैनिक हजारौं यात्रुलाई समस्या हुन थालेको छ । सबैले थाहा पाए पनि सडक अवरुद्ध नहुने अवस्था आएको छैन । विगतमा दोहोरिने यही अवस्था अन्त्यका लागि सडकको विस्तार तथा कालोपत्रेको वृहत योजना थालिएको थियो, जुन अहिले सकिने क्रममा छ । तर काम सकिनै लाग्दा झनै सडक अवरुद्ध हुन थालेको छ । सरकारले विशेष विज्ञको परामर्शमा अहिले देखिएको समस्याको समाधान खोज्नुपर्ने देखिन्छ । सडक तयार भएर हस्तान्तरणपछि पनि यही समस्या दोहोरिइरहने हो भने सडकका लागि लगानी भएको अर्बौंको रकमको औचित्य रहँदैन । अर्कोतर्फ सडकको विकल्पका लागि पनि सरकारले पहल गर्नुपर्ने भएको छ । नौबिसे हेटौंडा सडकको मर्मत र स्तरोन्नति नहुँदा विकल्पका रुपमा सो सडक प्रयोग गर्न सकिएको छैन । बुटवल पोखरा सडकलाई पनि विस्तार गर्ने र केही साँघुरा ठाउँ फराक पारेर भए पनि मुग्लिङ नारायणगढ सडकलाई कम भार दिन सकिन्छ । तनहुँको बुद्धसिं मार्गमा बन्ने भनिएको पुललाई चाँडो बनाउने मात्र हो भने पनि धेरै समसया हल हुन सक्छ ।