पा“च सय वन ‘डढेलोमुक्त’

दमौली  । तनहुँका पाँच सय सामुदायिक वन डढेलोमुक्त बनेका छन् । जिल्ला वन  कार्यालय तनहुँका वन अधिकृत अम्बिका पौडेलले ३० वटा वनलाई डढेलोमुक्त बनाउने लक्ष्य राखिएकामा आर्थिक वर्ष २०७५÷०७६ मा पाँच सय वनलाई डढेलोमुक्त बनाउन सकिएको जानकारी दिए । यो लक्ष्यभन्दा निकै धेरै हो । वनसम्बन्धी चेतनामा वृद्धि तथा सामुदायिक वनको सक्रियताका कारण पछिल्ला वर्षहरुमा सामुदायिक वन क्षेत्रमा डढेलोको क्रम केही घट्न थालेको कार्यालयले जनाएको छ । कार्यालयले आफ्नो वन क्षेत्रमा डढेलो लाग्न नदिएका वनहरुलाई प्रशंसापत्रबाट सम्मानसमेत गरेको छ । राष्ट्रिय वन क्षेत्रमा भने यो क्रम उल्टो देखिन्छ । राष्ट्रिय वनले चर्चेका क्षेत्रमा हुने डढेलो नियन्त्रणमा कठिनाई हुने गरेको छ । 
वनका उपभोक्ता नहुने तथा सरकारी अनुगमन पर्याप्त मात्रामा नपुग्ने गरेकाले राष्ट्रिय वन क्षेत्रमा बढी डढेलो देखिने अनुमान कार्यालयको छ । तर सामुदायिक वनहरुले भने डढेलो लगाउनेमाथि कारबाही तथा सचेतनाका कार्यक्रम फैलाउने गरेका छन् । ‘सामुदायिक वनको बढ्दो सक्रियताका कारण डढेलो घटाउन सकिएको हो,’ पौडेलले भने ।
कार्यालयले वर्षभर ७० हजार बिरुवा रोपण गरेको छ । यसैगरी सामुदायिक वनमार्फत ६८ हेक्टर क्षेत्रफलमा वृक्षारोपण गरिएको पौडेलले बताए । निजी क्षेत्रमासमेत ७० हजार बिरुवा रोपण गरिएको पौडेलले जानकारी दिए । कार्यालयले वर्षभर वन सम्पदाबाट एक करोड ८१ लाख ६४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । 
वन पैदावरको निकासी तथा जरिवाना र सजायबाट उल्लिखित परिमाणमा राजस्व संकलन गरिएको वन अधिकृत पौडेलले बताए । विगतका वर्षहरुमा वन कार्यालयमातहत सबै बजेट खर्च हुने गरे पनि गत वर्षबाट वनको बजेटसमेत स्थानीय तहमा गएका कारण पहिलेको तुलनामा कम काम गर्न सकिएको उनले बताए । 
स्थानीय तहले भने वनको बजेटसमेत कतिपय अवस्थामा अन्य विकासका काममा खर्च गरेका छन् । यता वन कार्यालयले भने पर्याप्त बजेट नभएकाले सोचेजति काम गर्न नसकिएको बताउने गरेको छ ।