क्रियापुत्री भवनलाई १० हजार

 दमौली  । व्यास गुफा क्षेत्रमा निर्माणाधीन क्रियापुत्री भवनका लागि व्यास–२ बालमन्दिर टोल निवासी क्या. सन्तलाल श्रेष्ठले १० हजार १ सय ५ रुपैयाँ सहयोग गरेका छन् ।
भवनका लागि विभिन्न क्षेत्रबाट दान गर्ने क्रम चलिरहेका बेला नेवा खलःमा सक्रिय श्रेष्ठले सहयोग रकम प्रदान गरेका हुन् । उनले भवन निर्माण समितिका अध्यक्ष उपेन्द्र लम्साललाई रकम हस्तान्तरण गर्दै आफ्ना तर्फबाट पनि केही सहयोग गर्न पाएको भन्दै खुशी प्रकट गरे । समितिका अध्यक्ष लम्सालले क्रियापुत्री भवनको निर्माण कार्य सम्पन्न गर्नका लागि विभिन्न क्षेत्रबाट सहयोग आइरहेकामा खुशी व्यक्त गरे । उनले थप सहयोग प्राप्त हुने अपेक्षा पनि गरेका छन् । 
व्यास गुफा नजिकै यसअघि काजक्रियाका लागि कर्म गर्ने क्षेत्रमा निर्माण हुने क्रममा रहेको भवनका लागि हाल स्वतःस्र्फूतरुपमा विभिन्न क्षेत्रबाट सहयोग संकलन भैरहेको छ । ५० लाख रुपैयाँ लागतमा बन्न लागेको भवनका लागि व्यास नगरपालिकाले कुल लागतको ८० प्रतिशत सहयोग गरेको छ । २० प्रतिशत श्रमदानका लागि समितिले दाताको सहयोग खोजेको हो । पर्याप्त रकम संकलन भएमा थप संरचना समेत बनाउने तयारी समितिको छ ।