साउनबाट लाइसेन्स खुल्ने

 दमौली  । लामो समय रोकिएर खुलेको लाइसेन्सको आवेदन अब साउन तेश्रो साताबाट खुल्ने भएको छ । हाल प्रदेश सरकार मातहत पुगेको कार्यालयले साउन तेश्रो साताबाट नयाँ लाइसेन्सका लागि आवेदन खुलाउने तयारी गरेको कार्यालयका प्रमुख तेजनारायण यादवले जानकारी दिए । कार्यालयले प्रदेश सरकारमातहत सेवा थाल्दैछ । तर हालका लागि भने प्रदेश र संघीय सरकारसँग समन्वय गरेर सेवा दिने तयारी गरिएको प्रमुख यादवले बताए । नयाँ व्यवस्थाअन्र्तगत अब प्रदेश सरकार मातहत नै रहेर कार्यालयले लाइसेन्स वितरण गर्ने र आम्दानी पनि प्रदेश सरकारको खातामा दाखिला हुँदैछ । यादवले सेवा सुधारको लागि प्रदेश सरकार र नीतिगत समस्या समाधानको लागि संघीय सरकारसँग समन्वयमा काम गर्ने बताए ।
२८ हजारलाई लाइसेन्स
गण्डकी यातायात कार्यालय पोखराबाट आर्थिक वर्ष २०७४÷७५ मा २८ हजार बढीले लाईसेन्स लिएका छन् । यातायात व्यवस्था कार्यालयको तथ्यांक अनुसार पोखराबाट एक वर्षमा २८ हजार ९ सय १ जनाले लाईसेन्स लिएको कार्यालयका प्रमुख यादवले बताए ।
उनले फर्म दर्ता गर्ने प्रशिक्षार्थी मध्ये ४२.६८ प्रतिशतले मात्रै परीक्षा उत्तिर्ण गरेको बताए । ६७ हजार ७ सय १७ जनाले फर्म दर्ता गरेका थिए । उनका अनुसार ३८ हजार ८ सय १५ जना लिखित तथा ट्रायल उत्तीर्ण हुन असफल भएका छन् । आर्थिक वर्ष २०७४÷०७५ मा मोटसाईकलमा २६ हजार ५ सय ५७ जनामा केवल १३ हजार २ सय ७७ जना मात्रै उत्तीर्ण भएका छन् । 
स्कुटर तर्फ १७ हजार ५ सय ६३ फर्म दर्ता मध्ये ७ हजार ७ सय ८७ ले उत्तीण गरी लाईसेन्स पाएको यादवले जानकारी दिए । कार जीप, भ्यान अन्र्तगत २० हजार ५ सय मध्ये ६ हजार ७ सय ५९ जना मात्रै परीक्षा उत्तीर्ण भएका छन् । सबैभन्दा कम मिनिमा २४.७२ प्रतिशत मात्रै उपलब्धि भएको तथ्यांकले देखाएको छ । पास भएका परिक्षार्थीबाट यातायात व्यवस्था कार्यालय पोखराले १६ करोड ६२ लाख ७५ हजार ७ सय रुपैयाँ राजस्व संकलन गरेको छ ।