गुम्यो अवसर

 दमौली  । लगातार दुई पटक न्यायिक सर्वोच्च निकायको नेतृत्व गर्ने अवसरबाट तनहुँ बञ्चित भएको छ । संसदीय सुनुवाईको इतिहासमा पहिलो पटक प्रधान न्यायाधिश हुने अवसरबाट कामु प्रधानन्यायाधिश दीपकराज जोशी अस्विकृत भएसँगै तनहुँले दोश्रो पटक सर्वोच्चको नेतृत्व गर्ने अवसर गुमाएको हो । 
यसअघिका प्रधान न्यायाधिश गोपाल पराजुली तनहुँ ऋषिङ गाउँपालिका काहुँशिवपुरका 
हुन् । हालका कामु जोशी भानु नगरपालिकाको पूर्कोटका हुन् । उनी वरियताका हिसाबले प्रधान न्यायाधिश बन्ने लाइनमा थिए । तर संसदीय सुनुवाईका क्रममा उनको कार्यक्षमतामा प्रश्न उठाइएको छ । न्यायिक सुधारका योजना ठोस नभएको, प्रमाणपत्र सन्देहात्मक देखिएको तथा विवादित फैसलाका विषयमा चित्तबुझ्दो जवाफ नदिएकोलगायतका कारण देखाउँदै समितिले जोशीको नाम अस्विकृत गरेको समितिका सदस्य सुमन प्याकु¥यालले सञ्चारकर्मीलाई 
बताए । यस घटनामा बार एसोसिएसनले न्यायिक सर्वोच्चतामा हस्तक्षेप भनेको छ । यसअघि संवैधानिक परिषदले नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिलाई राजनीतिक प्रभावमा गरिएको अस्विकृतीले न्यायिक इतिहासमा हस्तक्षेपको शुरुवात भएको भन्दै बारले विज्ञप्ति निकालेर आपत्ति जनाएको छ । 
तनहुँका वरिष्ठ अधिवक्ता यदुनाथ खनालले न्यायिक इतिहासमा ठाडो राजनीतिक हस्तक्षेप भन्दै समितिको निर्णयप्रति खेद प्रकट गरेका छन् । जोशीविरुद्ध यसअघि नै पराजुलीको बहिर्गमनमा भूमिका खेलेकोसमेत आरोप लाग्ने गरेको छ । जसमा उनले तत्कालीन एमाले र माओवादी नेतृत्वसँग निकट भएर काम गरेको चर्चा चल्ने गरेको 
छ । तर अब जोशीको नाम अस्किृत भए पछि उनीभन्दा पछिल्लो वरियताका ओमप्रकाश मिश्रको सम्भावना खुलेको छ ।