ऋषिङमा नेवारी संस्कृतिको चहलपहल

 दमौली  । तनहुँ नेवा खलको आयोजनामा सांस्कृतिक ऋषिङ गाउँमा नेवारी संस्कृतिमा आधारित सांस्कृतिक कार्यक्रम भएको छ । ऋषिङ नेवा खलको संयोजनमा भएको कार्यक्रममा नेवारी समुदायका कुमारी, तायमचा, टाकटुके, लाखे, जोगी, तजुलजु, छ्यालीलगायतका नाच प्रदर्शन गरिएको छ । 
धिमे बाजाको धुन पनि कार्यक्रममा प्रस्तुत गरिएको थियो । कार्यक्रममा बोल्दै ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले संस्कृति सम्बद्र्धन र कलाको माध्यमबाट ऋषिङको परिचय स्थापना गरिने बताए । सांस्कृतिक समबद्र्धनका लागि ऋषिङ र अन्य ठाउँका नेवारी संस्कारको प्रदर्शनी र प्रबद्र्धन गरिनुपर्ने उनको भनाइ थियो । अन्य स्थानमा रहेका नेवार संस्कारका बारेमा आपसमा समन्वयका लागि भाइचारा स्थापित गर्नुपर्ने उनले बताए ।
ऋषिङ गाउँपालिकाका संस्कृति सम्बद्र्धनका लागि अनवरत लागि पर्ने उनले प्रतिवद्धता जनाए ।
संविधान सभासद झुलबहादुर आलेले नेवार समुदायसँगै जनजातिको संस्कृति र संस्कार जोगाउन सबै लाग्नुपर्ने बताए । नेवार समुदायको प्रदर्शनी सबै जनजाति समुदायका लागि प्रेरक भएको उनले बताए । तनहुँ नेवा खलका अध्यक्ष दिलबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा ऋषिङ गाउँपालिकाकी उपाध्यक्ष गिनुमाया थापा, कास्की नेवा खलका अशोक पालिखे, दय दबुका केन्द्रीय उपाध्यक्ष शंकरनारायण श्रेष्ठ, भिमसेन नेवा खलका अध्यक्ष महेन्द्रकुमार श्रेष्ठलगायतले बोलेका थिए । 
सोही अवसरमा कोटदरबारका मगर समुदायले कौरासमेत प्रस्तुत गरेका 
थिए ।  कार्यक्रममा दमौली, घिरिङ तथा भीमादबाट ठूलो संख्यामा नेवार समुदायको उपस्थिती थियो ।