साढे २ करोडमा मोटरेबल पुल अबको चार वर्षमा तीन हजार किमि रेलमार्गः महासेठ

  दमौली  ।व्यास १ गल्बुबेसी र व्यास ४ सिमलटार जोड्ने बुल्दी खोलामा निर्मित मोटरेबल पुलको उद्घाटन गरिएको छ । पुलको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले उद्घाटन गरे । दुई करोड ५७ लाख रुपैयाँमा निर्माण सम्पन्न पुलले सिमलटारको बस्तीलाई पृथ्वी राजमार्गसँगको सोझो सम्पर्कका रुपमा जोड्नेछ ।  
पुलको उद्घाटन गर्दै मन्त्री महासेठले अबको चार वर्षभित्र देशमा तीन हजार किलोमिटर रेल लाईन तथा छ हजार किलोमिटर सडक कालोपत्रे गर्ने बताए । मन्त्री महासेठले अबको एक वर्षमा बंगालको खाडीमा पानी जहाज सञ्चालन गर्ने लक्ष्य सरकारले राखेको बताए । ‘अब गफ हैन साँच्चैको काम गरेर देखाउँछौं,’ उनले भने । मन्त्री महासेठले मुग्लिङ नारायणगढ सडकमा अब दुई वर्षभित्र १४ पुल थपेर बाटो सोझो पारिने 
बताए । उनले अबको चार वर्षभित्र पोखरा मुग्लिङ सडक चार लेनको बनाइने बताए ।  कार्यक्रममा तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य केदार सिग्देलले कांग्रेसलाईसमेत साथमा लिएर विकास अघि बढाउने बताए । कसले ग¥यो भन्दा पनि काम भयो कि भएन भन्ने विषय प्रधान भएको भन्दै उनले विकासमा राजनीतिक प्रतिष्पर्धा गर्नु नहुने 
बताए । 
क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले विकास निर्माणमा राजनीति गर्न नहुने बताए । उनले आफूले केही कुरा नढाँटेको भन्दै बोलेका कुरा पुरा गर्ने बताए । आफ्नो तलब विकासका काममा दिइरहेको भन्दै थप सामाजिक क्षेत्रमा रकम दिने उनले घोषणा गरे । 
कार्यक्रममा प्रदेश सभा सदस्यहरु रामबहादुर गुरुङ, डोबाटे विक र सरिता गुरुङ, एमाले केन्द्रीय सदस्य एकबहादुर रानालगायतले बोलेका थिए । 
पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष देवीबहादुर बस्नेतले सिमलटारको बस्ती लामो समयदेखि यातायातको पहुँचको अभावमा भोगेको सास्ती अब टरेको बताए ।