कृष्ण मार्ग अवरुद्ध

 दमौली  । जिल्लाको दक्षिण पश्चिम तथा छिमेकी पाल्पा र स्याङजा जाने कृष्ण मार्गमा यातायात अवरुद्ध भएको छ । सडकमा माटो खसेका कारण घिरिङ २ स्थित च्युरीभीरमा शनिबार दिउँसो देखि अवरुद्ध सडक अझै खुल्न सकेको छैन । 
सडक निर्माणको जिम्मा पाएको सन्तोषी निर्माण निर्माण सेवाले सडक विस्तारको काम गरे पनि तलब नदिएको भन्दै मजदुरले काम नगरेपछि कम्पनीको डोजर प्रयोग गरेर पहिरो हटाउनसमेत सकिएको छैन । आईतबारसमेत दिनभर वर्षा भएका कारण पहिरो हटाउन नसकिएको वडाध्यक्ष पुर्ण थापाले बताए । उनले ठेकेदारका कारण मजदुरले काम नगर्दासमेत समस्या भएको बताए । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले अवरुद्ध सडक खुलाउनका लागि निर्देशन दिएको बताए । उनले सोमबारसम्ममा सडक सञ्चालनमा आउने बताए । ‘ठेकेदारलाई तत्काल सडक खुलाउन निर्देशन दिएको छु,’ उनले भने,‘अन्यत्रबाट चालक खोजेर भए पनि सडक सञ्चालन हुनेछ ।’ पाल्पाको रामपुर, स्याङजाको चापकोट तथा तनहुँको बैडी र आसपास जाने सडकको स्तरोन्नतीको काम जिम्मा लिएको सन्तोषी निर्माण निर्माण सेवाले काम समयमै नसक्दा सडकमा वर्षायामको यात्रा निकै कष्टकर हुने गरेको छ ।