घरेलु तथा साना उद्योगको प्रगति समीक्षा

दमौली  । घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय तनहँुको वार्षिक कार्यक्रम प्रगति समीक्षा गरिएको छ । कार्यक्रममा कार्यालयको आर्थिक वर्ष २०७५÷०७६ को प्रस्तावित कार्यक्रमबारे छलफलसमेत गरिएकोछ ।
जिल्लाका १० मध्ये सात वटा तहका अध्यक्ष तथा उपाध्यक्षहरुको उपस्थिती रहेको कार्यक्रमको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले उद्घाटन गरे । कार्यक्रममा कार्यालयका प्रमुख रामबहादुर रानाले वार्षिक कार्यप्रगति तथा प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले नियमित घरेलु तथा साना उद्योगका कार्यक्रम तथा गरिबी निवारणका लागि लघु उद्यम विकास लगायतका विषयमा प्रस्तुतीकरण दिए । कार्यक्रममा जिल्ला समन्वय समितिकी उप प्रमुख पवित्रा पौडेलले हाल सम्म भएका गतिविधि राम्रो भएको भन्दै कमजोरी सधार्न सुझाव दिइन् । ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले कार्यालयको विवरण पारदर्शी भएको बताए । उनले आर्थिक अभावका कारण स्थानीय तहले घरेलु उद्यमका क्षेत्रमा पर्याप्त लगानी गर्न नसकेको भन्दै लगानी वृद्धि गर्न पहल गर्ने बताए । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले युवाहरु बेरोजगार भएर वैदेशिक रोजगारका लागि विदेश जाने क्रम लाई कम गर्न अनुकुल वातावरण मिलाएर तालिम दिनका लागि कार्यालयलाई सुझाव दिए ।