प्रगति फस्र्ट रनर अप

 दमौली  । नेपालकै चर्चित अन्तर्राष्ट्रियस्तरको नृत्य प्रतियोगिता बुगीउगीको फाइनलमा पुगेकी तनहुँ नर्सरीकी प्रगति पुन फस्र्ट रनर अप भएकी छन् । शनिबार राती भएको ग्राण्ड फिनालेमा प्रगतिलाई फस्र्ट रनर अप घोषणा गरियो । उनले नगद छ लाख रुपैयाँ पुरस्कार 
जितिन् ।
तीन जना फाइनलमा पुगेको प्रतियोगितामा कविता नेपाली विजेता बनिन् । सर्लाहीकी नेपालीले २५ लाख नगद पुरस्कार पाइन् । देशभरका अडिसनबाट छानिएका डेढ सय प्रतियोगीबीचको प्रतिष्पर्धामा तीन जना फाइनल पुगेका थिए । सरोज मोक्तान सेकेण्ड रनर अप भएका छन् ।
तनहुँकी पुनलाई विजेता बनाउनका लागि अन्तिम समयसम्म पनि तनहुँका उनका समर्थकले भोटिङ गरेका थिए । उनका पक्षमा जितका लागि दमौली, भीमाद, दुलेगौंडालगायतका बजारमा कार्यक्रमसमेत गरिएको थियो । विजेता नै नभए पनि आफू विजेताजस्तै भएको र सघाउने सबैको यसमा साथ रहेको पुनले बताइन् ।