असुरक्षा बढेको हाईस्कूलटारबासीको गुनासो

 दमौली  ।व्यास १ हाईस्कूलटारबासीले असुरक्षा बढेको गुनासो गरेका छन् । दैनिकजसो युवाहरु हातहतियार लिएर हिंड्ने गरेको र हिंसात्मक झडपको त्रास बढेकाले साँझ तथा विहान हिंडडुल गर्नसमेत समस्या भएको उनीहरुको गुनासो छ । प्रदेस तथा स्थानीय तह निर्वाचनका क्रममा कलाकार विक्रम परियारको सोही क्षेत्रमा लागु पदार्थ प्रयोगकर्ताको ढुंगा प्रहारबाट ज्यान गएको थियो । दमौली क्षेत्रमा हुने झडप र केही हत्याका घटनासमेत सोही क्षेत्रमा भएको इतिहास छ । स्थानीयले आफूहरुले सुरक्षित हुन पाउनुपर्ने माग गरेका 
छन् । टोलले आयोजना गरेको एक कार्यक्रममा उनीहरुले जनप्रतिनिधिसमक्षसमेत यस्तै गुनासो गरेका थिए । धेरै ठाउँमा गुनासो गर्दासमेत सुरक्षा नपाएपछि उनीहरु आजित छन् । स्थानीय महिला सञ्जालकी अध्यक्ष गिरिमाया मिश्र महिला तथा बालबालिकाले असुरक्षित महसुस गर्नुपरेको 
बताउँछिन् । युवाहरु हातमा खुकुरी लिएर हिंड्ने तथा महिला तथा युवतीलाई जिस्काउने गरे पनि उनीहरुमाथि कारबाही नहुँदा असुरक्षा भएको गुनासो धेरैको छ ।
टोलका अध्यक्ष सहवीर उच्चैले दिनदिनै असुरक्षा बढ्दा सबैले त्रासमा बाँच्नुपरेको बताए । 
साँझ पर्नासाथ लागुपदार्थ प्रयोगकर्ता तथा विभिन्न समूहका युवाहरुको चहलपहल बढ्ने भएकाले नियमित प्रहरी गस्ती हुनुपर्ने माग टोलवासीले गरेका छन् । दैनिक खुकुरीसहितका युवा समूहको चहलपहपल बढ्ने भएकाले यसो नगरिए कुनै पनि दुर्घटना हुन सक्ने चेतावनी उनीहरुको छ ।
यता प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले भादगाउँ क्षेत्रमा रातको समयमा केही कडाइ गरिएको भए पनि अब हाईस्कूलटार क्षेत्रमा पनि गस्ती बढाउने बताए । ‘नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन हामी तयार छौं,’ उनले भने ।