तीन दिनपछि कृष्ण मार्गको पहिरो हट्यो

 दमौली  । शनिबारबाट अवरुद्ध जिल्लाको दक्षिण पश्चिम तथा छिमेकी पाल्पा र स्याङजा जाने कृष्ण मार्गको यातायात सोमबार मात्र नियमित बनेको छ । 
घिरिङ २ स्थित च्युरीभीरमा शनिबार दिउँसो  पहिरो खसेपनि नहटाइएकामा सोमबार पहिरो हटेपछि यातायात नियमित बनेको 
हो । सडक निर्माणको जिम्मा पाएको सन्तोषी निर्माण निर्माण सेवाले पहिरो पन्छाउनुपर्नेमा कामदार नआएपछि सोमबारसम्म सडक अवरुद्ध बन्न पुग्यो ।सोमबार डोजरका अपरेटर आए पछि विहान ११ बजेतिरबाट पहिरो हटाइएको वडाध्यक्ष पूर्ण थापाले जानकारी दिए । उनले पहिरो हटे पनि सडकको अवस्था हिलो भएका कारण यातायात सञ्चालनमा सहजता नभएको बताए । 
सडकको विस्तारको काम समयमा नसकिएका कारण कृष्ण मार्गमा वर्षायाममा यातायात सञ्चालनमा कठिनाइ आउने गरेको 
छ । सोही मार्गबाट पाल्पाको रामपुर, स्याङजाको चापकोट तथा तनहुँको बैडी र आसपास जाने सवारी साधन चल्ने गरेका छन् ।